कलंकी–थानकोट सडक विस्तारलाई चाँडो पूरा गरिनेछ ः नेता श्रेष्ठ

इनेप्लिज २०७४ कार्तिक ३० गते १४:१० मा प्रकाशित

काठमाडौँ, ३० कात्तिक  ः नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले कलंकीदेखि थानकोट सडक विस्तारलाई चाँडो पूरा गर्ने योजना रहेको बताउनुभएको छ ।

नैकाप भञ्ज्याङमा वाम गठबन्धनको कार्यालयको आज शुभारम्भ गर्दै उहाँले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने महत्वपूर्ण नाकाका रुपमा रहेको त्यस क्षेत्रमा सडक विस्तारमा ढिला भएका कारण ट्राफिक जामका साथै स्थानीयवासीलाई धुवाँ र धुलोको समस्या रहेकाले वामपन्थी सरकार आएमा सडक विस्तार चाँडै गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विगतमा सरकारको स्थिरता हुन नसक्दा देशमा पूर्वाधार निर्माणमा अवरोध पुगेको विचार व्यक्त गर्दै नेता श्रेष्ठले उक्त सडक काठमाडौँ महानगरपालिका र चन्द्रागिरि नगरपालिका दुवैको क्षेत्रभित्र पर्ने हुँदा अब बन्ने केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी निर्माण गरिने जानकारी गराउनुभयो ।

मुलुकमा सरकारले स्थायित्व कायम गरेपछि मात्र दीर्घकालीन महत्वका योजना कार्यान्वयन हुने बताउँदै काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्रेष्ठले त्यसका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।
––

प्रतिक्रिया