अमेरिकाबाट कांग्रेस नेतृत्वमा पहिलो प्रतिनिधित्व ,आनन्द विष्ट कांग्रेस केन्द्रीय (आमन्त्रित) सदस्य मनोनित

इनेप्लिज २०७४ कार्तिक २९ गते ०:३६ मा प्रकाशित

काठमाण्डाैं,कार्तिक २८ । नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई आज आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको हो । ‘सभापतिज्यूले आज मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नु भएको पत्र प्रदान गर्दै जिम्मेवारी दिनु भएको छ,यसलाई मैले विश्वभरिका जनसम्पर्क समितिको सम्मानको रुपमा लिएको छु’ जिम्मेवारी पाए लगत्तै छोटो संवादमा विष्टले ग्लोब नेपाल डटकम प्रतिनिधिसंग भन्नुभयो ।

जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा मनोनित हुने विष्ट भारत बाहेकका देशबाट पहिलो नेता हुनुहुन्छ । गत सेप्टेम्वरमा राष्ट्र संघ महासभामा भाग लिन आउनुभएका प्रधानमन्त्री देउवाले आफ्नो सम्मानमा जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गर्नु भएको थियो । सोही अनुसार सभापति देउवाले विष्टलाई नेपाल बोलाई पार्टी गतिविधिमा क्रियाशील हुन र आसन्न निर्वाचनमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनु भएपछि विष्ट अहिले नेपालमा कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्न विभिन्न जिल्लामा पुगिरहनु भएको छ ।

गत साता मात्र विष्ट गृहजिल्ला डोटीबाट कैलाली,कंचनपुर हुँदै लगत्तै ओखलढुंगा र खोटांग पुगेर राजधानी फर्कनु भएको थियो । सोमवार सभापति देउवाले बालुवाटारमा विष्टलाई आसन्न निर्वाचनमा कांग्रेस उम्मेदवारहरुको पक्षमा जनमत सिर्जना गर्न सक्रियतापूर्वक खट्न निर्देशन दिएपछि विष्ट चुनावी अभियानमा पुन: विभिन्न जिल्लामा पुग्दै हुनुहुन्छ । यस्तो अभियानमा पुग्नु पूर्व नै सभापति देउवाले विष्टलाई पार्टीको नेतृत्व तहमा जिम्मेवारी सुम्पनु भएको हो ।

विगत दुई दशकदेखि अमेरिकामा बसेर नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न अनवरत क्रियाशील रहनु भएका विष्टलाई अमेरिकाभित्र अत्यन्त शालीन र भद्र व्यक्तित्वको रुपमा चिनिन्छ । मिलनसार व्यक्तित्वका धनी विष्टले तत्कालीन राजाको निरंकुश शासन व्यवस्थाका विरुद्ध न्यूयोर्कस्थित राष्ट्र संघ र वासिंगटन डिसीस्थित ह्वाइट हाउस र क्यापिटल हिलमा भएको प्रदर्शन र लोकतन्त्रका पक्षमा विश्व जनमत जुटाउने अभियानको नेतृत्व गर्नु भएको थियो । पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले विष्टको यही नेतृत्वदायी भूमिकाको कदर गर्दै जनसम्पर्क समितिलाई संगठित गर्न जिम्मेवारी दिनु भएको थियो ।

विष्ट अमेरिकामा कांग्रेसको संगठनलाई विस्तार गर्ने संस्थापक नेतृत्वकर्ताको रुपमा चिनिनु हुन्छ । विष्टकै पहलमा सुरु भएको जनसम्पर्क समिति,अमेरिका आज अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो र प्रभावशाली संगठनको रुपमा स्थापित छ । हाल अमेरिकामा समितिका २७ वटा च्याप्टर क्रियाशील छ भने अमेरिकी नेपाली डायस्पोराका अन्य सामाजिक संघ,संगठन र एनआरएन लगायतका संस्थामा पनि जनसम्पर्क समितिका सदस्यहरुको नेतृत्व रहेको छ ।विष्टलाई सामाजिक रुपमा समेत अमेरिकाको नेपाली डायस्पोराले अत्यन्त भद्र र शालीन व्यक्तित्व भनि सम्मान गर्दछ ।

पार्टीप्रति अत्यन्त निष्ठावान विष्टलाई पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले समेत निकै भरोसा गर्नुहुन्थ्यो । नेपाली कांग्रेसको महाधिवेशनमा अमेरिकाबाट एक निर्वाचन क्षेत्र बराबरको हैसियत दिलाउन विष्टको महत्वपूर्ण योगदान रहेको छ । विष्टकै पहलमा अमेरिकाले कांग्रेसको १२ औं महाधिवेशनमा पहिलोपटक आधिकारिक रुपमा प्रतिनिधित्व गर्ने अवसर पाएको थियो । सोही महाधिवेशनपछि कांग्रेसको विधानमा नै जनसम्पर्क समितिको प्रतिनिधित्व गराउने व्यवस्था उल्लेख छ । १२ औं र १३ औं महाधिवेशनमा अमेरिकाबाट महासमिति सदस्य समेत रहेका विष्ट मातृभूमिमा सम्पन्न संविधान सभाको पहिलो र दोश्रो दुवै निर्वाचन,हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउने अभियानमा सक्रियतापूर्वक लाग्नु भएको छ ।

यसैगरी गत वर्ष नेपालमा गएको महा प्रलयकारी भूकम्पपछि राहत संकलन र वितरणका लागि विष्ट नेपालमा सक्रियतापूर्वक लाग्नु भएको थियो । विष्टको मनोनयनलाई सिंगो जनसम्पर्क समितिलाई पार्टीले सम्मान गरेको भन्दै यो निर्णयको सबैले स्वागत गरेका छन् । आफ्नो करिअर नै राजनीतिक र सामाजिक सेवामा समर्पण गर्नु भएका विष्टले यो जिम्मेवारीले आफुलाई अझ ऊर्जा मिलेको भन्दै आफ्नो मनोनयनलाई प्रवासमा रहेका सम्पूर्ण जनसम्पर्क समिति र कांग्रेसजनप्रतिको सम्मानको रुपमा लिएको बताउनु भएको छ ।’म पार्टीको एक वफादार सिपाही हुँ र मैले यो जिम्मेवारीलाई अत्यन्त गहनताका साथ लिएको छु,यसलाई मैले हामी देश बाहिर रहेका सबै कांग्रेसजनको सम्मानको रुपमा लिएको छु । यसका लागि म मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व र आदरणीय सभापतिज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दछु’विष्टले भन्नु भएको छ ।

प्रतिक्रिया