१९ कात्तिक, नेपालगन्ज । मुगुमा मलेरियाको संक्रमण फैलाउने लामखुट्टे र मलेरीयाको जिवाणु भेटिएको छ ।
गत भदौ र असोज महिनामा बाजुराको कोल्टी आसपास र मुगुमा देखिएको मलेरिया रोगमा हुने जस्तो लक्षण देखा परेपछि स्थलगत अवलोकनमा गएको स्वास्थ्यकर्मीको टोलील यसको पुष्टी गरेको हो ।
हिमाली जिल्ला मुगु र बाजुराको कोल्टी क्षेत्रमा भेक्टर सर्वेको लागि पुगेका स्वास्थ्यकर्मी टोलीका सदस्य तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल अफिसर रत्नलाल शर्माले मुगु र बाजुरामा गरिएको भेक्टर सर्वेमा मलेरियाको जिवाणु र मलेरिया सार्ने लामखुट्टे फेला परेको जानकारी दिए ।
उनले भने- ‘चिसो ठाँउमा मेलेरियाको जीवाणु नहोला भन्ने सोचाइ नै गलत भएको छ ।’ रोगको सक्रमण फैलिएको ठाँउ कर्णाली नदीको किनार भएको र भित्री मधेशको जस्तो भु-बनोट छ ।
उनले ती स्थानमा भेटिएका लामखुट्टेमा नरमखालको मलेरियाको जिवाणु भेटिएको बताए । उनले बाजुराको कोल्टीबाट ४ घण्टा पैदल दुरीमा पर्ने मुगुको खत्याड गाउँपालिका वडा नं. ८ र १० रिंगा, आमा, ठामलेख, हेङ्गलु, सुकाडिकलगायतका गाउँहरुमा मलेरियाको संक्रमण देखिएको जानकारी दिए ।
उनले भने- ‘सबैभन्दा बढी रिंगा गाउँमा मलेरिया प्रभावित भएको भेटाएका छौं । भेक्टर सर्वे, विषादी स्प्रे साथ साथै नमुना संकलनसमेत गरिरहेका छौं ।’
गत भदौमा बाजुराको कोल्टीमा मलेरियाको लक्षण देखा परेको थियो । त्यहाँ गरिएको स्वास्थ्य परिक्षण र रगत संकलनमा ६० बढीमा मलेरिया पोजेटिभ नतिजा आएको थियो ।
गत असोज २५ गते मुगुको खत्याड क्षेत्रमा दुई जनामा देखिएको मलेरिया अहिले ६३ जनामा देखिएको छ ।
चिसो तथा हिमाली क्षेत्रमा प्राय मलेरिया नदेखिने भए पनि जलबायुमा भएको परिवर्तनका कारण हिमाली क्षेत्रमा समेत महामारीको रुपमा देखिएपछि स्वास्थ्य विभाग ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डा. दिपेन्द्र कंडेलको नेतृत्वमा चिकित्सकको टोली खटाएको छ । उनले त्यस क्षेत्रमा स्वास्थ्य जाँचसँगै भेेक्टर कन्ट्रोलका लागि विषादी छर्ने कार्य तीव्ररुपले सञ्चालन गरिएको बताए ।
यसैबीच मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीले मुगुको खप्त्याड क्षेत्रमा देखिएको मलेरिया सामान्य खालको भएको बताइन् । उनले सो क्षेत्रमा फैलिएको मलेरीयाका कारण कसैको ज्यान नगएको पनि जानकारी दिइन्
प्रतिक्रिया