वडाको विकासका लागि प्रारम्भिक तथ्यांक संकलन

इनेप्लिज २०७४ भदौ १ गते ८:५१ मा प्रकाशित

पोखरा, १ भदौ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ को समग्र समृद्धि र विकासको लक्ष्यका साथ प्रारम्भिक तथ्यांक संकलन शुरु गरिएको छ ।

वडाभित्रका ३७ वटा टोल विकास संस्थामार्फत दुई हजार ५०० घरधुरीमा तथ्यांक संकलन गर्न लागिएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक तथ्यांक संकलनका लागि वितरित फारममा घरमूली र परिवारका सदस्यको नाम, स्वरोजगार तथा बेरोजगार (रोजगार भए स्वदेश वा विदेश), घर (ढुंगा माटाको वा सिमेन्टेड), आफूले लिन चाहेको तालीम (कफीखेती, सुन्तलाखेती, तरकारीखेती वा अन्य) जस्ता कुरा खुलाउनु पर्नेछ ।

उक्त फारममा नै परिवारका सदस्यसँग छलफल गरी वडाका लागि आवश्यक महत्वका तीन योजना समावेश गर्नुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वडाले टोल विकास संस्थामार्फत आफ्ना टोलमा रहेका सार्वजनिक जग्गा, मठ मन्दिर, पुरातात्विक सम्पदा, गोरेटो, घोडेटो वा पक्की बाटो आदिको जानकारी लिनका लागि छुट्टै फारम तयार गरी वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया