सडकको खाल्टोमा चार बालिकाको एक चिहान

इनेप्लिज २०७४ साउन २१ गते १९:२० मा प्रकाशित

रौतहटमा एउटा खाल्टोमा चार बालिकाको डुबेर मृत्यु भएको छ । सडक विभागले निर्माण गराएको सडकको दुवैतिर खाल्टो रहेकामा सोही खाल्टोमा जमेको पानीमा रौतहटको गरुडा नगरपालिका ४ का राम एकवाल साहकी १२ बर्षकी छोरी संगिता कुमारी साह र ९ बर्षकी छोरी मुनीता कुमारी साह, प्रेम नारायण साहकी ९ बर्षकी छोरी सुस्मीता कुमारी साह तथा जोगीन्द्र साहकी ९ बर्षकी छोरी सुनैना कुमारी साहको एकै ठाउँमा मृत्यु भएको हो । घटनास्थल इलाका प्रहरी कार्यालय गरुडाभन्दा करिब एक मिटर मात्र टाढा छ ।

घटनाको खबरले गरुडा बजार नै शोकमग्न रहेको छ । घटनास्थलको रौतहटको सुरक्षा प्रमुखहरुको टोलीले निरीक्षणसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा, नेपाल प्रहरी रौतहटका प्रमुख यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी रौतहट प्रमुख भगवान मल्ल र राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख नवीन अधिकारीले स्थलगत निरीक्षण गर्दै घटना अत्यन्त दुखदायी भएको बताएका छन् ।

जिल्लामा बालबालिका डुबेर मर्ने क्रम निकै बढेको छ । साउन महिनामा मात्रै जिल्लामा एघारजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको विषयमा गहन अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

घटनामा सरकार नै दोषी : मन्त्री साह

रौतहटको गरुडा नगरपालिकामा नै चारजना बालिकाको खाल्टोमा डुबेर एक साथ मृत्यु भएपछि सहरी विकासमन्त्री प्रभु साहले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारकै लापरवाहीको कारण घटना भएको बताएका छन् । मन्त्री साहले घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया