गौरी जोशी प्रचार अभियानमा

इनेप्लिज २०७४ साउन १४ गते ०:४४ मा प्रकाशित

गौरी जोशी प्रचार अभियानमा: जोशी शुक्रवार न्यू हाम्सायर,शनिवार बोष्टन,आइतवार न्यूयोर्क र सोमवार न्यूजर्सीका एनआरएन सदस्य,मतदाता र शुभेच्छुकहरुका माझ पुग्दै | न्यू ह्याम्प्सायरमा रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य लोक लामा र बोष्टनमा रहेकी जोशी समूहकी एनआरएन अमेरिका बोर्ड अफ डाइरेक्टर पदकी उम्मेदवार तृष्णा शर्माद्वारा आज साँझ र भोली हुने कार्यक्रममा उपस्थितिका लागि अनुरोध

टेक्सास,अमेरिका,जुलाई २८ | एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका सशक्त दावेदार गौरी जोशी अमेरिकाको पूर्वी क्षेत्रको चुनावी प्रचारमा निस्किएका छन् | टेक्सासका व्यवसायी जोशी आफ्ना दुई सहयोगी एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार थलराज पन्त र जोशीको चुनावी अभियानको आन्तरिक व्यवस्थापकीय संयोजन गरिरहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य सुन्दर गुरुङसहित आज टेक्सासबाट न्यू ह्याम्सायरका लागि प्रस्थान गरिसकेका छन् | जोशीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका अन्य पदका उम्मेदवारहरु पनि यो अभियानमा सहभागी हुनेछन् |
जोशीको उम्मेदवारीको बारे विभिन्न चर्चा चलिरहेका बेला निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नुपूर्व नै अध्यक्षका प्रवल दावेदारको रुपमा अगाडी देखिएका जोशी यसरी प्रचारमा निस्किएका हुन् | यो प्रचारका क्रममा जोशीले आफ्नो नेतृत्वको भिजन र उम्मेदवारीका बारे सदस्यहरुलाई अवगत गराउने र सदस्य तथा शुभेच्छुकहरुसंग अन्तरक्रिया गर्नेछन् |

निर्वाचन आयोगले पूर्व प्रकाशित गरेको कार्य तालिका अनुसार भोली जुलाई २९ तारिख शनिवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ | पहिलो सूचीमा नाम समावेश नभएपछि उत्पन्न अन्यौललाई चिर्दै जोशीले निर्वाचन आयोगको माग बमोजिमका प्रमाण र कागजात पेश गरेका छन् | सोही विवरण प्राप्त गरेपछि निर्वाचन प्रमूख बन्दिता दाहालले आयोगको पूर्व प्रकाशित कार्य तालिका अनुसार उम्मेदवार सूचीमा नाम समावेश गर्ने भन्दै जोशीलाई इमेल गरिसकेकी छिन् | त्यही इमेललाई आधार मानेर जोशी चुनावी अभियानमा अघि बढेका छन् |

जोशीसंगै रहेका नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य सुन्दर गुरुङले जोशीको उम्मेदवारीको अन्यौल निर्वाचन प्रमूखको इमेलले अन्त्य गरिसकेको भन्दै अब जोशीलाई बाहिर राखेर एनआरएन अमेरिकाको चुनाव समेत हुन नसक्ने जिकिर गरे | उनले भने,-‘जोशीको विषयलाई लिएर अमेरिकामा रहेको नेपाली डायस्पोरा एकढीक्का छ,एनसीसी विधान अनुसार उनी उम्मेदवार हुन पाउने नैसर्गिक अधिकार छ | उनको अधिकारलाई कसैले हनन गर्न सक्दैन,मिल्दैन | त्यसैले अब जोशी मतदाताको निर्णायक चरणमा प्रवेश गरेका छन् | मतदाता नै अन्तिम न्यायालय हो | तसर्थ जनताको न्यायालयमा जोशी पुग्दैछन् |’

कहाँ कहाँ जाँदैछन् त जोशी ?

जोशीले हिजो एक भिडियो सन्देश प्रकाशित गर्दै आफु शुक्रवार आज न्यू ह्याम्सायर,भोली शनिवार बोष्टन,आइतवार न्यूयोर्क र सोमवार न्यूजर्सीका एनआरएन सदस्यहरुसंग भेटघाट र अन्तरक्रियाका लागि पुग्न लागेको जनाएका छन् | उनले भिडियो सन्देशमा भनेका छन्,-‘ केही व्यक्ति विशेषले मेरो उम्मेदवारी रोक्न लागिपरेको अवगत नै छ | एनआरएन सबैको हो | यो साझा र सामुहिक भावनाले काम गर्ने,सबैले आफ्नो महसुस गर्न पाउनुपर्ने संस्था हो,त्यसकै लागि म लागेको छु र एनआरएनलाई मेरो हो भन्ने सबैले अपनत्व महसुस गर्न पाउनुपर्छ भन्ने मेरो अडान हो | त्यसैले हाम्रो र राम्रो एनआरएन,सामुहिक भावना सहितको साझा,एकताबद्ध र बलियो एनआरएन बनाउने अभियानका लागि म तपाईंहरुको शहरमा आउदैछु | यो अभियानमा साथ दिनु हुन म एनआरएनका सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्दछु |’

यसैबीच न्यू ह्याम्सायरमा रहनु भएका नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सदस्य लोक लामाले आज साँझ हुन लागेको एनआरएन अमेरिकाका अध्यक्षका प्रवल दाबेदार गौरी जोशीसंगको भेटघाट र छलफलका लागि आफुहरु उत्साहित रहेको बताउनु भएको छ | ‘न्यू ह्याम्सायरका सदस्य र शुभेच्छुकहरुलाई सम्झिएर जोशीजी यहाँ आउन लाग्नु भएको जानकारी पाएर हामी अत्यन्त उत्साहित छौं, हामी न्यू ह्याम्सायरवासी जोशीजीलाई हार्दिक स्वागत गर्दछौं |’ लामाले शुक्रवारको व्यस्त दैनिकीका बावजुद पनि समय मिलाएर आज साँझ सात बजे 93 Ashley Drive Manchester मा हुन लागेको कार्यक्रममा उपस्थित भैदिन यस क्षेत्रका सबै सदस्यलाई अनुरोध गर्नुभएको छ |

यसैगरी शनिवार अपरान्ह बोष्टनमा हुन लागेको कार्यक्रमको संयोजन गरिरहनु भएकी जोशी समूहका तर्फबाट एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदकी उम्मेदवार तृष्णा शर्माले पनि गौरी जोशी र समुहका अन्य उम्मेदवारसंगको अन्तरक्रिया कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गर्नु भएको छ | उहाँले भन्नु भएको छ,-‘भोली शनिवार अपरान्ह चार बजे हिमालयन बिष्ट्रो रेष्टुरेन्ट ( 1735 Centre St , West Roxbury ,MA ) मा हुन लागेको भेटघाट,परिचय तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भैदिनु हुन म सम्पूर्ण म्यासाचुसेट्सका एनआरएन सदस्य र शुभेच्छुकहरुलाई अनुरोध गर्दछु |

प्रतिक्रिया