वर्षायामसँगै कालीगण्डकीमा जलयातायात अवरुद्ध

इनेप्लिज २०७४ असार १८ गते १०:२७ मा प्रकाशित

फलेवास (पर्वत), १८ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयातायात (स्टिमर)वर्षायामसँगै अवरुद्ध भएको छ ।

नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । यातायात सेवा अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले चार घण्टा लामो यात्रा गर्नुपरेको छ ।

विगत १७ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनाँै गाविसका बासिन्दाले नौ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आए पनि वर्षात्को समयमा भने तीन महिना अवरुद्ध हुने गरेको हो ।

दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित साविकको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मीसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती क्षेत्रका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाविसवासीले सहज रुपमा यात्रा गर्नुका साथै मालसामान ओसारपसार गर्दै आएका थिए ।

यातायातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान साबित भए पनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । पानीको सतह घटेपछि मात्र स्टिमर सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । असोजको दोस्रो सातापछि पानीको सतह कम हुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौं उहाँले भन्नुभयो ।

यातायात अवरुद्ध हुँदा दैनिक आधाघन्टामा सकिने यात्रा चार घन्टाको पैदल यात्रा हिँडेर स्याङ्जाको मिर्मीसम्म पुग्न बाध्य भएका छन् । हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायीले वर्षामा खच्चरमार्फत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेहरुका लागि अहिले त्यही जलाशय बरदान जस्तै बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । जलाशयमा दैनिक रुपमा सञ्चालित आठवटा स्टिमर अहिले ठप्प छन् । स्टिमरमा २४ जनाले प्रत्यक्ष रुपमा र दर्जनौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारीको अवसरसमेत पाएका छन् ।

हिउँदको समयमा सहज रुपमा यातायात सेवा पाए पनि वर्षायामका तीन महिना भने सास्ती नै खेप्नुपर्ने अवस्था आएको न्यौपानेले बताउनुभयो । स्टिमर सञ्चालन हुँदा प्रतिकिलो ५० पैसामा ढुवानी गर्दै आएका व्यवसायी खच्चरबाट प्रतिकेजी रु चारमा सामान ढुवानी गर्न बाध्य भएका छन् । कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईका अनुसार “पहिले डुङ्गा र साना स्टिमर भए पनि अहिले मालबाहक ट्रकको इन्जिन र जिपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको छ ।” यसले मालबाहक ट्रककै जस्तै वाहन क्षमता राख्दछ ।

प्रतिक्रिया