बयासी स्थानीय तहको निर्वाचनको नतिजा प्राप्त

इनेप्लिज २०७४ असार १७ गते १०:२३ मा प्रकाशित

काठमाडौँ, १७ असार । यही असार १४ गते प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भएको निर्वाचनको हालसम्म ८२ तहको परिणाम प्राप्त भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ११ बजेसम्म प्राप्त परिणामअनुसार नेकपा (एमाले) ३४, नेपाली काँग्रेस ३१ र नेकपा (माओवादी केन्द्र) १५ वटा स्थानीय तहको नेतृत्व लिन सफल भएका छन् । त्यस्तै सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।

उपाध्यक्ष एवम् उपप्रमुखमा एमाले ३४, काँग्रेस २८, माओवादी केन्द्र १४, सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् ।

ताप्लेजुङको फातालुङ गाउँपालिकाको मतपेटिका सङ्कलन हुन अझै बाँकी छ भने अछामको चोरपाटी गाउँपालिकाको वैजनाथ मावि हाडाकोटमा कार्यकर्ताभित्र प्रवेश गराउने विषयमा विवाद भएका कारण मतगणना सुरु हुन बाँकी नै रहेको जनाइएको छ ।

झापाको बुद्धिशक्ति गाउँपालिका–१ मा उम्मेदवार र उद्घोषकले घोषणा गरेको परिणाम तथा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा टिपाएको मत सङ्ख्या फरक परेका कारण स्पष्ट नभएसम्मका लागि ती दुवै स्थानको मतगणना स्थागित भएको आयोगले जनाएको छ ।

यस्तै कपिलवस्तुको बाडगङ्गा–२ को मतपरिणाम सुनाउने क्रममा कर्मचारीले गलत सङ्ख्या उद्घोष गरेकाले गए रातिदेखि मतगणना स्थगन भएको तथा झापाको दमक नगरपालिका–१ मा एमाले र राप्रपाबीच बराबरी मत (८०१) भएपछि स्थगन भएको मतगणना सुरु भइसकेको निर्वाचन आयोगबाट थाहा भएको छ । अहिले २४७ स्थानीय तहमा मतगणना जारी रहेको बताइएको छ ।

प्रतिक्रिया