इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे उद्घाटन

इनेप्लिज २०७४ जेठ १८ गते ८:०१ मा प्रकाशित

गौशाला, १८ जेठ । महोत्तरी जिल्लाको दुई गाउँपालिकामा सुविधा सम्पन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे निर्माण गरिएको छ ।

जिल्लाको बलवा गाउँपालिकामा रु एक करोड ७४ लाख ५२ हजार ५सय ४२ को लागतमा इलाका प्रहरी कार्यालय निर्माण गरिएको र बलवा तथा सीतापुर भंगहा गाउँपालिकालाई समेटने गरी भंगहामा रु एक करोड २८ लाख ८२ हजार १५७ को लागतमा प्रहरी चौकी निर्माण गरिएको हो ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत शान्ति कोषको सहयोगमा निर्मित इलाका प्रहरी कार्यालय, बलवा प्रहरी चौकी भंगहामा ब्यारेक भवनमा कार्यालय प्रयोजनका लागि पाँचवटा कोठा, शौचालय, सुविधासहितको दुईवटा महिला तथा पुरुष हिरासत कक्ष, , भान्छा कोठा, इन्चार्ज आवास, अतिथि कक्ष, सञ्चार कक्ष निर्माण गरिएको छ ।

सोे इलाका प्रहरी कार्यालय र प्रहरी चौकीे हेटौँडास्थित मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक गणेश केसीले उद्घाटन गर्नुभयो ।

उहाँले अपराध नियन्त्रण गर्ने र अपराधीलाई कानुनको दायरामा ल्याउने जिम्मेवारी प्रहरीको काँधमा आइपरेकाले त्यसका लागि भवन निर्माण गर्नु जरुरी भएको र यो भवन उच्च कोटीकोभएकाले प्रहरीको सेवा पनि उच्च कोटीको हुनुपर्छ भन्नुभयो ।

चौकीमा आरसिसी फ्रेम, स्ट्रक्चर अवधारणाअन्तर्गत तीनतले कार्यालय तथा ब्यारेक भवन निर्माण गरिएको र यसमा सिसी क्यामेरा जडान गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

हाल मध्यक्षेत्रमा १३ वटा क्षतिग्रस्त प्रहरी भवन पुनःनिर्माण भइरहेको छ ।

प्रतिक्रिया