कसैप्रति पूर्वाग्रह नराखी काम गर्न निर्देशन

इनेप्लिज २०७४ वैशाख २४ गते ८:४५ मा प्रकाशित

काठमाडौँ, २४ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटिजाने अनुगमनकर्ताका लागि आज यहाँ आयोजित प्रशिक्षणमा उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आयोगको विशेष दूतका रुपमा काम गर्न उहाँहरुलाई सुझाव दिनुभयो ।

डा यादवले भन्नुभयो, “सबै राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारमा जुट्नुभएको छ, निर्वाचनको विश्वासनीयता बढाउनको लागि तपार्इंहरुले भूमिका खेल्नुस्, निर्वाचन आचारसहिता पालनामा ध्यान दिनुस्, कुनै उम्मेदवार र दल केन्द्रित भावना नराख्नुस् ।” खटिएको जिल्लाको संवेदनशीलतालाई बुझेर आयोगको गौरव बढाउने काम गर्न पनि उहाँले अनुगमनकर्तालाई निर्देशन दिनुभयो ।
आयुक्त ईश्वरीप्रसाद पौडेलले मतदान अधिकृत, उम्मेदवार, पर्यवेक्षक र सुरक्षाकर्मीबाट समेत आचारसंहिताको परिधिभित्र रहेको निर्वाचनसँग सम्बन्धित गतिविधि भए नभएको बारे जानकारी लिन खटाइएका अनुगमनकर्तालाई आफ्नो जिम्मेवारीअनुरुपको गोपनीयता राखेर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्न्ुभयो, “कुनै पनि राजनीतिक दल र ट्रेड युनियनप्रतिको भावनालाई त्याग्नुस्, अन्यथा निजामती सेवामा तपार्इंहरुको भविष्य खतरामा पर्न सक्छ ।”
आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिएका कर्मचारी पनि आचारसहिताको दायराभित्र रहनुपर्ने पक्षलाई हेक्का राखेर आयोगको आँखा र कानका रुपमा जिम्मेवारी पाएका अनुगमनकर्ताले घरआँगनमा सरकार निर्माणका लागि हुने निर्वाचनको ऐतिहासिक महत्वलाई बुझ्नुपर्छ भन्नुभयो । ती अनुगमनकर्ताले खटिएका जिल्लामा एक साता जिम्मेवारी सम्हाल्नेछन् । रासस

प्रतिक्रिया