फस्टाउँदै फर्निचर मेलाको कारोबार

इनेप्लिज २०७३ माघ २० गते ११:५९ मा प्रकाशित

रौतहटको गरुडा नगरपालिकाअन्तर्गतको जयनगरमा फर्निचर मेला सुरु भएको छ । ग्रामीण क्षेत्रमा लाग्ने सम्भवतः देशकै ठूलो ग्रामीण फर्निचर मेलाले अवलोकनकर्ता तथा क्रेताको ध्यान आकर्षित गर्नेगरेको छ । श्रीपञ्चमीको भोलिपल्टदेखि एक हप्तासम्म लाग्ने फर्निचर मेलामा रौतहटको विभिन्न भागबाट घरायसी प्रयोजनका साथै कृषिसित सम्बन्धित विभिन्न फर्निचर र फलामका सामग्रीको विशाल मेला लाग्ने गर्दछ ।
विश्वकर्मा लोहार संघ फर्निचर मेला व्यवस्थापन समिति जयनगरको आयोजनामा लाग्ने मेलामा यस वर्ष सबा तीन करोड रुपैयाको कारोबार हुने विश्वास गरिएको छ । समितिका उपाध्यक्ष योगेन्द्र ठाकुरका अनुसार गत वर्ष २ करोड ७० लाखको कारोबार भएकोमा गत वर्षको तुलनामा फर्निचर व्यावसायीको संख्या बढेको र अवलोकनकर्ताको संख्यासमेत बढ्ने देखिएकोले ३ करोड २५ लाखको कारोबार हुने पूर्व अनुमान गरिएको छ ।
हरेक वर्ष मेलाको विस्तार भइरहेकोले मेलालाई थप व्यवस्थित पार्ने प्रयास भइरहेको समितिको भनाइ छ । मेलाबाट नेपालको सलाही, रौतहट, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर र भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर जाने गरेको समितिका वरिष्ठ सल्लाहकार दयाराम ठाकुरले जानकारी गराएका छन् । यातायातको सुविधा भएको र तुलनात्मकरुपमा फर्निचर सस्तो पर्ने हुनाले धेरै ग्राहकले जयनगरको फर्निचर मेलाबाट लाभ उठाइरहेको समितिको दाबी छ ।

प्रतिक्रिया