खेलकुद क्षेत्रको विकास हुन आवश्यक : अध्यक्ष ओली

इनेप्लिज २०७३ माघ १५ गते १३:१७ मा प्रकाशित

बिर्तामोड, १५ माघ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि खेलकुद क्षेत्रको विकास हुन आवश्यक रहेको बताउनुभएको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आजदेखि सुरु भएको झापा गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ओलीले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको भूमिका उत्तिकै हुनुपर्नेमा जोड दिनुभयो ।

ढिलोगरी कार्यक्रमस्थल आइपुग्नुभएका ओलीले करिब तीन मिनेटमात्र सम्बोधन गर्नुभयो । उहाँले खेलमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज आयोजक झापा– ११ र भारतको शेर क्लब, कालिम्पोङबीच खेल भएको थियो ।

माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु सात लाख र उपविजेताले रु तीन लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा विदेशी एकसहित १० वटा टिमको सहभागिता रहेको आयोजक झापा गोल्डकपका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया