केन्द्रीय प्रसारण लाइनमा छ मेगावाट विद्युत् थप

इनेप्लिज २०७३ माघ ७ गते ८:१७ मा प्रकाशित

पाँचथर, ७ माघ । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

बिहीबार साँझबाट केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो । यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो ।

दश मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो । झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारण लाइन रहेको छ । त्यसअन्तर्गत चारवटा सवस्टेसन रहेका छन् । फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनवटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको द्विवेदीले बताउनुभयो ।

उक्त प्रसारण लाइनमा २५८ वटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ वटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ वटा टावर निर्माण भइसकेको छ । २०६७ जेठ १४ गतेबाट मात्रै आयोजनाको काम अघि बढेको हो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु तीन अर्ब ५९ करोडको लागतमा सो आयोजनाको काम अगाडी बढाइएको हो ।

प्रतिक्रिया