हुलाकी सडकको उद्घाटन

इनेप्लिज २०७३ माघ ६ गते १२:५० मा प्रकाशित

धनगढी, ६ माघ । नेपाल र भारत सरकारको संयुक्त पहलमा कैलाली जिल्लामा निर्माण गरिएको हुलाकी राजमार्गको आज यहाँ उद्घाटन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत रणजीत रायले आज आयोजित कार्यक्रममा उक्त सडकको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

भारत सरकारको अनुदान सहयोगमा कैलाली जिल्लाको लम्कीदेखि खक्रौलासम्मको (उत्तर दक्षिण) झन्डै २७ किलोमिटर हुलाकी सडक निर्माण पूरा भएको छ ।

यस्तै धनगढीदेखि भजनी हुँदै सत्तीसम्मको (पूर्वपश्चिम) ६२ किमी सडकमध्ये वसन्ता जङ्गल क्षेत्रको झन्डै १८ किमी क्षेत्रबाहेक बाँकी भागमा हुलाकी सडक निर्माण पूरा भएको छ ।

निर्माण हुन बाँकी १८ किमी भागको सडक निर्माण नेपाल सरकार आफैँले निर्माण गर्न लागेको र यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको बताइएको छ ।

सडक निर्माणका लागि रेखाङ्कन गरिएको वसन्ता जङ्गलमा रुख कटानीको प्रक्रिया ढिलो गरी सुरु भएको लगायतका कारण यो भागको सडक निर्माणमा विलम्ब भएको हो । भारतीय निर्माण कम्पनी जिआर गावरले हुलाकी सडकको निर्माण कार्यको ठेक्का पाएको थियो ।

भारत सरकारको अनुदान सहयोग करिब रु एक अर्ब २६ करोडको लागतमा यो सडकको निर्माण गरिएको हुलाकी सडक आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले जानकारी दिनुभयो ।

हुलाकी राजमार्गअन्तर्गत ठूला नदीमा पर्ने पुलको निर्माण, जग्गाको मुआब्जा, माटो, ढुङ्गा, गिट्टीजस्ता सामग्री व्यवस्थापनको जिम्मा नेपाल सरकारले र सडकलगायत साना पुलेसाको निर्माणको जिम्मा भारत सरकारले लिएको थियो । हुलाकी सडकखण्डमा पर्ने पुलमध्ये अधिकांश पुलको निर्माण पूरा भइसकेको छ । काँन्द्रा, कटनी, पवेरा, कनरी, कानी र खक्रौला नदीमा पुल निर्माणाधीन रहेको छ ।

विकासका लागि महत्वपूर्ण पूर्वाधारका रुपमा लिइने हुलाकी राजमार्ग निर्माणपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई आवागमनमा सुविधा पुग्ने भई उनीहरुको आर्थिक जीवनस्तरमा परिवर्तन आउने विश्वास गरिएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्ग तराई मधेसको आर्थिक समृद्धिको मार्ग रहेको बताउँदै राजमार्ग निर्माणमा भएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिनुभयो ।

उहाँले हुलाकी सडक आयोजनाअन्तर्गत नेपालका १५ जिल्लामा झन्डै ७५० किमी हुलाकी सडक निर्माणको काम अघि बढेको जानकारी दिनुभयो ।

छुट्टै प्रशङ्गमा उहाँले संविधानलाई सर्वस्वीकार्य बनाई निर्वाचनमा जाने सरकारको प्रमुख एजेन्डा रहेको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत रायले प्राचीनकालदेखि नै दुवै देशको सम्बन्ध प्रगाढ र घनिष्ट रहेकाले कुनै व्यक्ति विषेश वा सरकारले चाहँदैमा यो सम्बन्धलाई बिगार्न नसक्ने बताउनुभयो ।

दुई देशबीचको सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – “घनिष्ट सम्बन्धकै कारण कहिलेकाहीँ केही समस्या आउन सक्छन् ।” दुवै देश भौगोलिक, सांस्कृतिक, धार्मिक रुपमा जोडिएको उल्लेख गर्दै उहाँले अहिले दुवै देशको चुनौती राजनीतिक नभई विकास नै हो भन्नुभयो ।

निर्माण भएको हुलाकी राजमार्ग नेपालको विकासका लागि उपयोगी हुने उल्लेख गर्दै उहाँले भारत सरकारले नेपालको शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार, सिँचाइ ऊर्जा विकासलगायतमा सहयोग गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया