राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनमा भित्तेलेखन नगर्ने

इनेप्लिज २०७३ माघ ५ गते ८:१६ मा प्रकाशित

काठमाडौँ, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ उपत्यकामा भित्तेलेखन नगर्ने भएको छ ।

काठमाडौँ उपत्यकाको सौन्दर्यतालाई कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने भएको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनको प्रचारका लागि काठमाडौँ उपत्यकाका मुख्य सहरी क्षेत्र तथा व्यापारिक केन्द्रमा साङ्गीतिक कार्यक्रम गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न पार्टीको महाधिवेशनका लागि विगतमा गरिएका भित्तेलखनले सहरको सौन्दर्यतामा हस आएको महसुस गरी पार्टीले त्यस्ता गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीभित्रबाट कसैले त्यसलाई अवज्ञा गरेमा सम्बन्धितलाई दण्ड तथा सजायसमेत गरिनेछ । पार्टीले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनका विभिन्न गतिविधिकाबारेमा यथार्थ र आवश्यक सूचना सार्वजनिक गर्ने जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा महाधिवेशनको प्रचार गर्न यसपटक सामाजिक सञ्जाललाई व्यवस्थितरुपले अधिकतम् उपयोग गरिनेछ ।

विभिन्न पार्टीको महाधिवेशन तथा राष्ट्रिय चुनावमा विभिन्न दलले सार्वजनिकस्थल तथा सडकका भित्तामा जथाभावी भित्तेलेखन गर्ने गरेको भए पनि त्यसलाई समयमा नमेटाउँदा काठमाडौँ केन्द्रित राजनीतिक गतिविधिले सहर फोहर देखिन्छ ।

सोही महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गर्ने क्रममा यही माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ र नगरको अधिवेशन गर्न लागिएको छ । यही २१ गते देशका २४० निर्वाचन क्षेत्रमा एकैदिन अधिवेशन गराइने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया