स्वस्थानी व्रत मेलाको पूर्व सन्ध्यामा यस मन्दिरमा मेला

इनेप्लिज २०७३ माघ १ गते ६:४१ मा प्रकाशित
सिन्धुपाल्चोक जिल्लाको श्री थापी नारायण मन्दिरमा विशेष मेला लागेको छ । जिल्लाको फुल्पिङ्गकट्टी गाविस वडा नं. ९ स्थित श्री थापी नारायण मन्दिरमा मेला लागेको हो ।
स्वस्थानी व्रत मेलाको पूर्व सन्ध्यामा यस मन्दिरमा मेला लाग्ने गर्दछ । स्वस्थान िपूर्णिमाको अगिल्लो दिन मन्दिर वरिपरि सरसफाई गरी मन्दिरलाई विभिन्न ध्वजापताकाहरुले सिंगार्ने कार्य गरिन्छ । मन्दिरमा मेला सुरु भएसँगै मन्दिर प्रांगणमा चहलपहल बढेको छ ।
तत् पश्चात् सायं काल अर्थात् साँझको समयमा नारायण मन्दिर परिसरमा दिप प्रज्वलन गरी मन्दिरमा आरती गर्ने परम्परा रहेको छ । मेला भर्नको लागि दोलखा, रामेछाप, भक्तपुर, काठमाडौं, ललितपुर लगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
छिमेकी गा.वि.स मार्मिङ, लिस्ती, तातोपानीबाट मन्दिरको लागि सामग्रीहरु ल्याईने परम्परा छ । लिस्तीबाट भजन टोलीहर बाजागाजा सहित उपस्थित हुने, मार्मिङबाट फूलपाती प्रसाद, बलिका लागि बोका र लिस्तीबाट नै नारायणलाई अभिषेक गर्न दूध ल्याउने चलन चल्दै आएको मन्दिरको पूजारी बताउँछन् ।
गाविसकै धरोहरको रुपमा रहेको मन्दिरमा साँझको पूजा सकिएपछि स्थानीयहरुले साँस्कृति कार्यक्रम आयोजना गरी नाचगान गर्ने चलन रही आएको छ । साँस्कृतिक कार्यक्रम पश्चात् स्थानीय थामी परम्परा अनुसार बाजा गाजा सहित मन्दिर परिक्रमा गर्ने चलन रहेको छ ।
उपत्यकाका ईचंगु नारायण, विशंखु नारायण, चाँगु नारायण र शेष नारायणको दर्शन पछि थापी नारायणको दर्शनले मात्र मनोकामना पुरा हुने विश्वास छ । यस नारायणलाई नारायणहरको शिर भनेर पनि श्री नारायणको नामले चिन्ने गरिन्छ, मन्दिरको पुरोहित नारायणप्रसाद नेपाल बताउनु हुन्छ ।
भोलिपल्ट मन्दिर भित्रको सरसफाई सकेर नारायणको मुर्तिलाई परम्परागत विधि अनुसार अभिषेक गरी भजनटोलीको बाजागाजा, थामी जातीको सँस्कृति र लिस्ती गा.वि.स.बाट परम्परादेखिको गाईको सन्ततीबाट दूध ल्याएर भक्तजनहरुलाई फूलप्रसाद सहित अभिषेक गरेपछि मेला सम्पन्न हुनेछ मन्दिर व्यवस्थापन समतिका उपाध्यक्ष अनेश नेपाल बताउनुहुन्छ ।

प्रतिक्रिया