भवन पुनःनिर्माण नहुँदा जीर्ण भवनमा पठनपाठन गर्न बाध्य

इनेप्लिज २०७३ पुष २६ गते ७:२५ मा प्रकाशित

भक्तपुर, २६ पुस । विनाशकारी भूकम्पले भक्तपुर खौमास्थित जागृति माविको भवन ठाउँ ठाउँमा चिरा चिरा प-यो । जिल्ला शिक्षा कार्यालयको प्राविधिक टोलीले सो भवनलाई पूर्ण क्षतिको सूचीमा राखेर रातो स्टिकर प्रदान ग¥यो ।
कर्यालयले सो विद्यालयलाई कटुञ्जेको महेन्द्र निमाविमा सार्ने निर्णय गरेपनि विभिन्न राजनीतिक दललगायतको विरोधले कार्यालयले आफ्नै निर्णय कार्यान्वयन गर्न सकेन । हाल सो विद्यालय सोही भवनमा नियमित रुपमा सञ्चालन भइरहेको छ ।

कार्यालयले भूकम्पले क्षति पु-याएका १२९ विद्यालयको विवरणमा जागृति माविको भवनलाई रेट्रोफिटिङ आवश्यक भएको उल्लेख गरेको छ । सुरुमा रातो स्टिकर प्रदान गरेको सो भवनलाई अहिले हरियो स्टिकर प्रदान गरिएको छ ।

त्यसैगरी भूकम्पले खरिपाटीस्थित गणेश माध्यमिक विद्यालयको छ वटा भवनमध्ये एउटा पूर्ण क्षति बनायो । विद्यालयको फलामको ट्रस्टबाट निर्माण भएको सो भवन अहिले पनि लड्ने अवस्थामा छ ।

विद्यालयले सो भवनमा विद्यार्थी, शिक्षक र कर्मचारीका लागि खाजाघर सञ्चालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक न्हुछेभक्त फोँजुले सो भवनलाई भत्काएर हटाउन जिल्ला शिक्षा कार्यालयमा पटक पटक अनुरोध गरे पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।

गत सोमबार कार्यालयमा पुगेर प्रधानाध्यापक फोँजुले सो भवन भत्काएर नहटाउँदा विद्यालयको अन्य भवनमा आउन जानसमेत अप्ठ्यारो भएको गुनासो गर्नुभयो । भूकम्पको सानो धक्काले पनि कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको सो भवनको ट्रस्टले कुनै पनि बेला ठूलो क्षति हुन सक्नेतर्फ सचेत गराउँदा पनि सम्बन्धित निकायको ध्यान नगएको उहाँको गुनासोे छ ।

चित्तपोलस्थित बालशिक्षा सदन निमाविको पाँचवटै भवन पूर्ण क्षतिको सूचीमा सूचीकृत भएको थियो । पाँचमध्ये एउटा पूर्णरुपमा भत्काउनु पर्ने र बाँकी चार वटा तत्काल मर्मत गर्नुपर्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ । तर हालसम्म सो विद्यालयका कुनै पनि भवन मर्मत हुन सकेको छैन ।

विद्यार्थी अस्थायी सिकाइ केन्द्र (टिएलसी)मा बसेर पठनपाठन गरिरहे पनि कक्षा कोठाको अभाव भएपछि हाल कक्षा ६, ७ र ८ लाई जोखिम मोलेरै जीर्ण भवनमा सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “भवनको गाह्रो चर्केको छ । ट्रस्ट पनि नभएकाले सोही भवनमा कक्षा सञ्चालन गरिएको हो ।”

भूकम्पले मध्यपुर थिमि–१५, कौशलटारस्थित जनप्रेमी निमापविको चार वटामध्ये फलामको ट्रस्टले निर्माण भएको दुई वटा भवन पूर्ण क्षति भएको थियो । सो स्थानमा नयाँ भवन निर्माण नहुँदा विद्यार्थी टिएलसीमा बसेर अध्ययन गर्न बाध्य छन् । अस्थायी केन्द्रमा विद्यार्थीले अत्यन्त सकसका साथ अध्ययन गर्नु परिरहेको प्रधानाध्यापक रणबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीमा त ठीकै छ तर जाडो र वर्षामा विद्यार्थीलाई धेरै सकस छ । जिल्ला कार्यालयमका पटक पटक भवन मर्मतका लागि ताकेता गरे पनि सुनवाइ भएको छैन ।”

भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि भूकम्पले क्षति पुगेका विद्यालयका भवन मर्मत हुन नसक्दा भक्तपुरका सयौँ विद्यार्थी जोखिमपूर्ण भवन र टिएलसीमा बसेर पठनपाठन गर्न बाध्य छन् । भूकम्पले जिल्लाका १२९ विद्यालयका ९३ वटा भवनमा पूर्ण क्षति भएको थियो ।

कार्यालयका अनुसार गत वर्ष जिल्लाका ५० वटा विद्यालयका कक्षा कोठा सामान्य मर्मत गरिएको छ । भूकम्पले सामान्य क्षति पुगेका ती कक्षाकोठा सामान्य मर्मतपछि कक्षा सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले जानकारी दिनुभयो ।

गतवर्ष कुनै पनि विद्यालय भवन मर्मत नगरेको जिशिकाले यस वर्ष १७ वटा विद्यालयका भवन पुनःनिर्माणका लागि माथिल्लो निकायमा प्रस्ताव गरिएको जानकारी दिएको छ । कार्यालयका अनुसार विद्यालयको जग्गाको अवस्था र विद्यालयको आवश्यकतालाई समेत मध्यनजर गर्दै बोडे मावि बोडे, चण्डेश्वरी निमावि र ठूली ब्रह्मायणी प्राविमा आठ कोठे, जनप्रेमी निमावि कौशलटारमा छ कोठे पक्की भवन निर्माणका लागि प्रस्ताव गरिएको हो ।

त्यसैगरी भीम आदर्श निमावि, सरस्वती निमावि नैचाल र सन्तकृष्ण प्राविमा चार कोठे भवन निर्माणका लागि सिफारिस गरिएको जिशिअ अधिकारीले बताउनुभयो ।

त्यसैगरी चित्रपुर प्रावि, चन्द्रसूर्योदय निमावि, द्यौला प्रावि, नगरकोट निमावि, तौथली प्रावि र बर्दायानी निमाविमा तीन कोठे र ब्रह्माचारिणी प्रावि, बालचेतन प्रावि, देउजागाउँ निमावि र सिरुटार माविमा दुई कोठे भवन निर्माणका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया