कृषि आधुनिकीकरण परियोजना सार्वजनिक

इनेप्लिज २०७३ पुष १२ गते ११:१० मा प्रकाशित

भद्रपुर, १२ पुस । जिल्ला कृषि विकास कार्यालय झापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७३-७४ को कार्यक्रम सार्वजनिकीरण तथा परियोजना कार्यान्वयन अभिमुखीकरण कार्यक्रम आज सम्पन्न ग-यो ।

झापाको दक्षिणी तथा पूर्वी क्षेत्रका पाठामारी, बालुवाडी, केचना, पृथ्वीनगर, बनियानी र घेराबारी गाविसमा यस वर्षदेखि धानमा ‘सुपरजोन’ क्षेत्र कार्यक्रम सुरु गरिएपछि आगामी दिनमा सञ्चालन हुने कार्यक्रम सार्वजनिक गरिएको हो ।

यसका लागि सरकारले यसवर्ष झापामा सुपरजोनका लागि रु चार करोड ४७ लाख ९९ हजार, ब्लकका लागि रु दुई करोड सात लाख ९३ हजार र पकेट क्षेत्रका लागि रु चार करोड ७९ लाख ३५ हजार बजेट विनियोजन गरेको छ ।

सो अवसरमा वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी र वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले कार्यक्रम सार्वजनिक गर्दै झापामा सञ्चालन हुने कृषि कार्यक्रममा कृषकको मेहनत र लगनशीलता आवश्यक रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले कृषि उत्पादन, भण्डारण, प्रशोधन, वितरण र बजारीकरणको उचित प्रबन्ध मिलाउन सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया