अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न

इनेप्लिज २०७३ पुष १० गते १६:०४ मा प्रकाशित

nrn-17

दार ए सलाम ,पूर्वी तथा पश्चिम अफ्रिका मुलुकहरुमा हेर्ने गरी दूतावास खोल्न सरकारसँग आग्रह गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को दोस्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको दार ए सलाममा आइतबार सम्पन्न भएको छ ।

पछिल्लो नेपाली बैदेशिक रोजगारी तथा व्यवसायमा आउने नेपालीको संख्या निरन्तर रुपमा बढ्दै गरेकाले दुवै क्षेत्रका एक एक वटा राजदूतावास आवश्यक भएको बैठकले ठहर गरेको छ । सात बुँदे दार ए सलाम घोषणा पत्र जारी गर्दै बैठक सम्पन्न भएको छ ।

एनआरएनएका अफ्रिका क्षेत्रका संयोजक सुनिल कार्कीले काम र व्यवसायका लागि आउने नेपालीहरु संख्या पूर्वी तथा पश्चिम अफ्रिकी मुलुकहरुमा भएपनि राजदूतावास उत्तर र दक्षिण क्षेत्रमा भएकाले काम गर्न अफ्ठ्यारो भएको बताए ।

‘समस्या पर्योर भनेर मात्रै होइन । भविष्यमा यस ठूलो संभावना भएको क्षेत्र पनि हो । यहाँ नेपालीहरुको आउने क्रम पछिल्लो समयमा बढेको छ’ कार्कीले भने, ‘तर हाम्रो दुतावास भने उत्तर र दक्षिण क्षेत्रमा रहेको छ । यति ठूलो महादेशलाई समेट्न सक्दैन।’

५४ वटा देश रहेको अफ्रिकामा २ वटा दुतावास रहेको छ । इजिप्टको कायरो र दक्षिण अफ्रिकाको प्रिटोरियामा दुतावास रहेको छ। दक्षिण अफ्रिकाका देशलाई कायरो र पूर्वी अफ्रिकी मुलुकलाई प्रिटोरियाले हेर्दै आएको छ । कार्यक्रममा पछिल्लो समयमा रोजगारी र व्यवसायमा गरी करिव ५ हजार नेपाली अफ्रिका बसोबास गर्दै आएको जानकारी गराइएको थियो ।

दार ए सलाम घोषणा पत्रमा रोजगारीका लागि अफ्रिका आउने नेपालीहरुका लागि श्रम स्वीकृति, राहदानी नवीकरण, अन्य काजगातको सिफारिसका सम्बन्धमा सरकारी प्रक्रिया झन्झटिलो तथा अफ्ठ्यारो रहेकाले त्यसलाई सहज र सुलभ बनाउन सरकारसँग माग गरेको छ ।

बैठकमा सहभागी प्रतिनिधिहरुले वैदेशिक रोगजार विभागले धेरै झन्झट बनाएको कारण श्रम स्वीकृति नलिइ भारतबाट आउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन् । त्यसका कारण कुनै समस्या पर्दा सरकारी निकायबाट सहयोग पाउन अफ्ठ्यारो हुने गरेको बताए ।

त्यसैगरी पछिल्लो समयमा अफ्रिका क्षेत्रमा मानव तस्करले नेपालीलाई अलपत्र पार्ने घटनाहरु बढेकाले त्यसका समाधानका लागि उचित कदम चल्न र आवश्यक संयन्त्र निर्माणका लागि सरकारसँग आग्रह गरेको छ ।
घोषणा पत्रमा बैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न भएर अफ्ठ्यारो परेका नेपाली र अलपत्र पर्ने नेपालीहरुको उद्दार तथा राहतका लागि स्थापना गरेको ‘एनआरएए अफ्रिका आपत्कालीन राहत कोष’लाई वृद्धि गरि कम्तीमा १५ लाख रुपैया निर्णय गरेको छ ।

पहिलो क्षेत्रीय सम्मेलनले सो कोष स्थापना गरिएको थियो । अफ्रिकाका विभिन्न मुलुकहरुले पर्यटन क्षेत्रमा प्राप्त गरेको अनुभव आदान प्रदान एनआरएनएको पर्यटन प्रवर्द्धन समिति र नेपाल सरकारलाई विशेष कदम चाल्न अनुरोध गर्ने समेत गरेको छ ।

यसअघि बैठकमा दक्षिण अफ्रिका तथा तान्जानियाका लागि नेपाली राजदूत अमृतबहादुर राईले नेपाल र अफ्रिकी देशहरुको सम्बन्ध, आर्थित तथा सहकार्यको संभावनाको क्षेत्र, एनआरएनए जाम्बियाका अध्यक्ष विदुर खनालले पर्यटनको सहकार्य, अफ्रिकी कोषको विषयमा केन्याका अध्यक्ष आरसी बस्याल, मानव तस्करीको समस्या बारेमा युगाण्डाका अध्यक्ष रमेश कँडेल र एनआरएनए केन्द्रीय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत कार्कीले अफ्रिकामा एनआरएनको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रहरुमाथि एनआरएनका प्रमुख संरक्षक जीवा लामिछाने र पत्रकार मणि दाहालले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया