मासिक तीस हजारलाई सेवा दिँदै आँखा अस्पताल

इनेप्लिज २०७३ पुष ९ गते ७:०८ मा प्रकाशित

झापा, ९ पुस । हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पस्नुभयो ।

भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोरालाई उपचारका लागि यहाँ आउनुभएको हो । भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि उहाँ १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल आइपुग्नुभएको हो ।

“दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु,” उहाँले भन्नुभयो– “भारतमा निको नभएपछि उपचार गराउन यहाँ आएको हुँ ।” यस क्रममा उहाँले छोराको उपचारका लागि रु तीन लाख खर्च गरिसक्नुभएको छ । यस्तै भारत सिक्किमका सुनिता भण्डारी गुरुङ ८ वर्षीय छोरा विजयका साथ अस्पतालमा भेटिनुभयो । उहाँ तीन वर्षदेखि लगातार छोराको उपचार गराउन नेपाल धाउँदै आउनुभएको छ । “अढाइ वर्षको हुँदादेखिनै आँखाको समस्या छ, भारतीय अस्पतालमा जति उपचार गरेपनि रोगको पत्तो लागेन,” उहाँले भन्नुभयो– “यहाँ ल्याएपछि एकै दिनमा रोग पत्ता लाग्यो ।” छोराको रोग निको हुँदै गएको गुरुङको भनाइ छ ।

छोरालाई नियमित चेकजाँच गराउन आउने गरेको उहाँले बताउनुभयो । विर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुन्छन् । अन्य रोगको उपचारका लागि दिनहुँ सयांँै नेपाली भारतका विभिन्न अस्पताल जाने गरेपनि आँखाको उपचार गर्न भने सोही सङ्ख्यामा भारतीय झापा आउने गरेका छन् ।

पहिला पहिला रोगले थलिएर बस्ने नेपाली अहिले आँखामा सामान्य समस्या देखिँदा समेत अस्पताल धाउने गरेका छन् । घरआँगनमै उपचार सहज भएपछि उनीहरु रोग लाग्ने वित्तिक्कै अस्पताल दौडिने गरेका हुन् । “आँखामा कचेरा आएपछि नजिकैको अस्पतालमा जचाउन आइहाले,” १ वर्षीय छोरा सम्भवलाई काखी च्यापेर आउनुभएका धुलाबारीका सिर्जना कडरियाले भन्नुभयो– “कचेरा झिक्न नियमित अस्पताल आउने गरेकी छु ।” “दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्” अस्पतालका नेत्ररोग विशेषज्ञ डा पवन महतले भन्नुभयो– “उपचार गर्न आउनेमा नेपाली र भारतीय बराबरीको सङ्ख्यामा छन् ।”

सन् १९९६ मा लायन्स क्लब अफ विर्तामोडले नेदरल्यान्डमा रहेको ‘आईकेयर’ फाउन्डेसनको सहयोगमा यहाँ १५ दिनको आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा पाँच हजार ७३८ जनाले सेवा पाए । शिविरमै यति धेरै बिरामीको चाप देखेपछि नेदरल्यान्डको आईकेयर फाउन्डेसनले अस्पतालका रुपमा सेवा दिन मद्दत गर्ने बताएपछि सोहीवर्ष विर्तामोडमा आँखा अस्पताल सञ्चालन भएको लायन्सक्लब अफ विर्तामोडका संस्थापक अध्यक्ष तथा अस्पतालका पूर्वअध्यक्ष भरतलाल गिरीले बताउनुभयो ।

स्थापनाको दुई दशकमा २० लाख ७० हजारभन्दा बढी बिरामीले आँखाको उपचार पाइसकेका छन् । सुरुवातमा एकजना चिकित्सकबाट सेवा प्रारम्भ गरेको सो अस्पतालमा हाल १३ चिकित्सकसहित एक सय २० जना कर्मचारी रहेका छन् ।

अस्पतालले शनिबार समेत सेवा प्रदान गर्दैआएको छ । तीन बिगाहा १६ कठ्ठा ६ धुरमा फैलिएको सो अस्पताल रु २५ करोडको लागतमा स्थापना भएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिनुभयो । अहिले अस्पतालसँग पाँचवटा अत्याधुनिक भवन रहेका छन् । ती भवनको उद्घाटन तत्कालीन राष्ट्रपति डा रामवरण यादवले सन् २००९ मा गर्नुभएको हो । अस्पतालले बिहानदेखि राति ८ बजेसम्म सेवा प्रदान गर्दैआएको छ ।
“बालबालिकाका लागि छुट्टै सेवा प्रदान गर्दै आएका छौँ,” नेत्ररोग विशेषज्ञ डा महतले भन्नुभयो । “शल्यक्रिया गरेबापत बिरामीबाट रु दुई हजारदेखि रु ३२ हजारसम्म सेवा शुल्क लिने गरेको छ । “न्यून शुल्कमा गुणस्तरीय उपचार पाउनथालेपछि भारतीय बिरामीको चाप बढ्दै गएको छ,” उहाँले भन्नुभयो । अस्पतालले मेची अञ्चलका विभिन्न जिल्लामा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैआएको छ ।

दुई सय ५० श्ययाको अस्पताल सञ्चालन गर्न विभिन्न उपकरणको अभाव रहेको अस्पतालका प्रशासन प्रमुख बताउनुहुन्छ । “एउटै मेसिन किन्न रु ५० लाखदेखि रु ६० लाखसम्म खर्च लाग्छ,” उहाँले भन्नुभयो– “यति धेरै महँङ्गा उपकरण किन्न अस्पताल आफैलेसक्ने अवस्था छैन, सरकारले सहयोग गरे हामी थप सेवा प्रदान गर्न तयार छौँ ।”

सो अस्पतालसहित हाल जिल्लामा हाल मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल र दृष्टि आँखा अस्पतालबाट आँखाका बिरामीले सेवा उपभोग गर्दैआएका छन् ।

प्रतिक्रिया