वरिष्ठ साहित्यकार त्रिपाठी सम्मानित

इनेप्लिज २०७३ मंसिर २६ गते १३:२० मा प्रकाशित

काठमाडौँ, २६ मङ्सिर । रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाज कपनले ‘रिया साहित्य स्रष्टा सम्मान’बाट वरिष्ठ साहित्यकार तथा समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई सम्मान गरेको छ ।

एक सय आठौँ लक्ष्मी जयन्तीको अवसर पारेर शनिबार आयोजना गरेको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रमअन्तर्गत उहाँलाई सम्मानित गरिएको हो । वरिष्ठ साहित्यकार प्रा डा केशवप्रसाद उपाध्यायले त्रिपाठीलाई नगद रू २० हजारसहित सम्मान गर्नुभएको थियो ।

साहित्य समाजद्वारा २०६९ सालमा स्थापित उक्त पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा शैलेन्दुप्रकाश नेपाल, प्रा डा कुमारबहादुर जोशी, प्रा डा चुडामणि बन्धु र प्रा डा महादेव अवस्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा कवि हेम प्रभाष, बलराम दाहाल, रामप्रसाद ज्ञवाली, नारायण नेपाल, नारायण निरासी, कोषराज न्यौपाने, कलानिधि दाहाल, प्रभाती किरण, जय गौडेललगायतले कविता वाचन गर्नुभएको थियो ।

प्रतिक्रिया