एमालेले ५ नं प्रदेशमा संविधान कार्यान्वयन अभियान चलाउने

इनेप्लिज २०७३ कार्तिक २३ गते ११:४८ मा प्रकाशित

बुटवल, २३ कात्तिक । नेकपा (एमाले) ५ नं प्रदेश कमिटीले संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ ।
अभियान अन्तर्गत जनतालाई संविधानका बारेमा बुझाउन पार्टीका प्रत्येक कमिटीका सदस्य जनस्तरमा परिचालन गरिने लगायत संविधान कार्यान्वयन जनपरिचालन अभियान सञ्चालन गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

यसका लागि एमालेले ५ नं प्रदेशका १२ जिल्लामा कार्यकर्ता परिचालन गरी घरदैलो, संविधानमा जनताका अधिकारका बारेमा भएका व्यवस्थासहितका पर्चा प्रकाशन गरी वितरण गर्ने, जनताका माझ पुगेर संविधाका बारेमा अन्तक्र्रिया, गोष्ठी र जनसभा आयोजना गर्नेसम्मका कार्ययोजना दुई दिनसम्म बुटवलमा बसेको प्रादेशिक कमिटीले तय गरेको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

संविधान कार्यान्वयन जनपरिचालन कार्ययोजना कार्यक्रममा एमालेले प्रदेशमा पार्टीका विभिन्न जनसङ्गठनलाई समेत सहभागी गराइने र हजारौँ कार्यकर्तालाई एकैसाथ परिचालन गरिने नेता भट्टराईले जानकारी दिनुभयो ।

कमिटी गठन भएपछि ५ नं प्रदेशको सङ्गठन कमिटीको आज सम्पन्न बैठकमा सहभागी कमिटीका नेता कार्यकर्ताले संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्न जरुरी रहेकामा जोड दिए ।

बैठकमा ५ नं प्रदेशको सीमाङ्कनलाई नचलाउन र तराई एवम् पहाडका जिल्लालाई अलग अलग गर्ने कुरा कदापि नस्वीकार्न नेतृत्वको ध्यानाकर्षण गराइएको थियो । तराई र पहाडका जिल्लालाई अलग अलग गर्नु भनेको मुलुककै अखण्डतामा असर पु¥याउन खोज्नु रहेको भन्दै सहभागीले त्यसका विरुद्ध जनताले पनि खबरदारी गर्न जरुरी रहेकामा जोड दिएको पार्टी स्थायी समितिका सदस्य छविलाल विश्वकर्माले बताउनुभयो ।

संविधान संशोधनका नाममा अनेक चलखेल भइरहेकाले त्यस्ता षड्यन्त्रलाई गम्भीरतापूर्वक लिएर परास्त पार्ने उचित रणनीति बनाउन पनि पार्टी नेतृत्वलाई सुझाव दिइएको एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

बैठकको समापनमा पार्टी उपाध्यक्ष वामदेव गौतमले एमालेले संविधान जारी हुँदादेखि यसको कार्यान्वयनका नेतृत्वका लागि जनतामा जाने कामलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि जनताका माझ जाने र अभियानमा सबै जनतालाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
पार्टी उपमहासचिव तथा ५ नं प्रदेशका संयोजक विष्णुप्रसाद पौडेलले संविधान कार्यन्वयन र एमालेले गरेका जनपक्षीय कामको जानकारी जनतामा पु¥याउन अभियानको उद्देश्य रहेको बताउनुभयो ।

पार्टीका उपमहासचिव घनश्याम भुसालले पार्टीभित्रको समस्या हल गरिसकिएकाले अब एकताबद्ध भएर जनतामा सन्देश लिएर जान कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले एमाले सरकारमा रहँदा गरेका जनपक्षीय कामले अहिले एमालेको पक्षमा जनसमर्थन देखिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया