काठमाडौँमा विकल्पसहितको प्रतिवेदन आयोगलाई पेस

इनेप्लिज २०७३ कार्तिक २२ गते १४:०४ मा प्रकाशित

काठमाडौँ, २२ कात्तिक । जिल्ला प्राविधिक सहयोग समिति काठमाडौँले विकल्पसहितको प्रतिवेदन स्थानीय तह पुनःसंरचना आयोगलाई पेस गरेको छ ।

प्रमुख दलबीच एउटै संरचना पठाउन सहमति नभएपछि विकल्पसहितको प्रतिवेदन पठाइएको जिल्ला विकास समिति काठमाडौँले जनाएको छ । पहिलो विकल्पअनुसार हाल कायम रहेका ११ नगरपालिकामध्ये नौ वटालाई नगरपालिका र आयोगको मापदण्डअनुसार जनसङ्ख्या नपुग्ने दुई नगरपालिकालाई गाउँपालिका बनाउने प्रस्ताव छ ।

ग्रामीण भेगमा रहेका र जनसङ्ख्या पनि नपुगेका शङ्खरापुर र दक्षिणकाली नगरपालिकालाई गाउँपालिका बनाउन सिफारिस गरिएको छ । कागेश्वरी मनहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, दक्षिणकाली, कीर्तिपुर र काठमाडौँ महानगरपालिकालाई नगरपालिका सिफारिस गरिएको समितिका सदस्य सचिव एवम् जिविस काठमाडौँका वरिष्ठ सूचना अधिकृत प्रवीण प्याकुरेलले बताउनुभयो ।

“एउटै विकल्प सिफारिस गर्नेमा सबै दलका बीचमा सहमति नभएपछि दुवै विकल्प आयोगलाई सिफारिस गरिएको हो”– उहाँले भन्नुभयो ।

दोस्रो विकल्पअनुसार शङ्खरापुर र कागेश्वरी मनहरालाई गाभी एउटा नगरपालिका र दक्षिणकाली एवम् कीर्तिपुर नगरपालिकालाई गाभी एउटै बनाउने प्रस्ताव गरिएको छ । अन्य सात नगरपालिकालाई यथावत् कायम राखिएको छ । यो विकल्प आयोगले तोकेको मापदण्ड बमोजिम भएको समितिले जनाएको छ ।

स्थानीय निकायको केन्द्र तोक्न भने नगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा जिविस काठमाडौँका एक जना अधिकृत सदस्य रहेको दुई सदस्यीय समिति गठन गरिएको छ । समितिले आगामी शुक्रबारसम्ममा केन्द्र निर्धारण गर्नेगरी समय तोकिएको छ ।

प्रतिक्रिया