चारलाखभन्दा बढी भूकम्पपीडितलाई पहिलो किस्ता

इनेप्लिज २०७३ असोज ३० गते १३:४९ मा प्रकाशित

bhukamp-gorkha-darwar1काठमाडौँ, ३० असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका चार लाख २० हजार ८२२ पीडितलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ ।

हालसम्म चार लाख ३७ हजार ४६९ घरधनीलाई पहिलो किस्ताको रु ५० हजार भुक्तानीका लागि सिफारिस गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“दसैँका कारण केही दिन अनुदान सम्झौता र पहिलो किस्ताको रकम वितरणमा ढिलाइ भए पनि शुक्रबारदेखि काम सुरु गरिएको छ, काठमाडौँमा ५५ हजार घरधनीसँग अनुदान सम्झौताको काम सुरु गर्ने तयारी भएको छ”– उहाँले भन्नुभयो ।

यसअघि भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लामा अनुदान सम्झौता गरी पहिलो किस्ताको रु ५० हजार लाभग्राहीको बैंक खातामा हाल्ने काम भइरहेको थियो । ललितपुरको बुङ्मतीका चार घरधनीसँग अनुदान सम्झौता गरी पहिलो किस्ता दिइएको थियो ।

केन्द्रीय तथ्याङ्क विभागले काठमाडौँमा एक लाख १५ हजार ६७१ घरधनीलाई पुनःनिर्माणका लागि अनुदान दिनुपर्ने सूची प्राधिकरणमा बुझाएको छ जसमध्ये ५५ हजारलाई पहिलो चरणमा तत्काल अनुदान सम्झौता गर्नेगरी तयारी सुरु गरिएको हो ।

तिहारअघि नै ललितपुर र भक्तपुरमा पनि अनुदान सम्झौता सुरु गरिने प्रवक्ता थपलियाले बताउनुभयो ।

प्रतिक्रिया