ज्येष्ठ नागरिकलाई निःशुल्क व्यायामशाला

इनेप्लिज २०७३ साउन २५ गते ५:३५ मा प्रकाशित

काँकडभिट्टा (झापा), २५ साउन । झापाको मेचीनगर–१० मा ज्येष्ठ नागरिकका लागि एक दाताले निःशुल्क व्यायामशाला सञ्चालनमा ल्याएका छन् ।

बेलायतमा लामो समय बसेर स्वदेश फर्किएका मेचीनगर निवासी नरेन्द्र गुरुङले रु सात लाखको निजी लगानीमा तीन महिना अघि व्यायामशाला स्थापना गर्नुभएको हो ।

बिहान ४ बजेदेखि खुल्ने व्यायामशालामा ५० देखि ८३ वर्ष उमेरसम्मका ४० जना वृद्धवृद्धा नियमित आउने गरेको सञ्चालक गुरुङ बताउनु हुन्छ ।

मेचीनगर–१० की ६८ वर्षीया प्रेमकुमारी ढकाल व्यायामशाला धाउन थालेको केही दिनमै स्वास्थ्यमा सुधार आउन थालेको बताउनुहुन्छ । बुढ्यौलीपनका कारण प्रेसर, ग्यास्ट्रिक, ढाड दुख्नेलगायतका रोगले थकित ढकाल बिहान ४ः३० बजे नै व्यायामशाला पुग्नुहुन्छ ।

स्थानीय ७२ वर्षीया धनमाया सङ्ग्रौला पनि दुई महिना अघिदेखि नियमित व्यायामशाला धाउनुहुन्छ । घुँडा दुख्ने रोगले ग्रस्त उहाँको बिहानको दैनिकी यही व्यायामशालामा नै बित्ने गरेको छ । उहाँले व्यायाम गर्न थालेपछि शरीर पनि फुर्तिलो भएको र घुँडा दुख्न समेत कम भएको बताउनुभयो ।

गुरुङले बेलायतमा रहँदा ज्येष्ठ नागरिकलाई त्यहाँको सरकारले व्यायामका सामग्री निःशुल्क उपलब्ध गराएको देख्नुभएको थियो । उहाँ नेपाल फर्किएर व्यायामशाला खोल्ने चाहना पूरा भएकोमा खुसी हुनुहुन्छ ।

व्यायामशालामा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक पर्ने आधुनिक उपकरण छन् । विशेष गरी यहाँ घाँटी, हात, खुट्टा, औँला, ढाड, कम्मर दुख्ने, दम, प्रेसरलगायतका समस्या भोगिरहेका वृद्धवृद्धा आउने गरेका छन् ।

ज्येष्ठ नागरिक समिति मेचीनगरका सचिव नरेन्द्रप्रकाश सिटौला ज्येष्ठ नागरिकका लागि व्यायामशाला नौलो र उपयोगी भएको बताउनु हुन्छ ।

प्रतिक्रिया