अविरल वर्षा कारण थुप्रै घर डुबानमा

इनेप्लिज २०७३ साउन १० गते ७:५० मा प्रकाशित

darchula2इटहरी, १० साउन । रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् ।

सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ ।

वर्षाकै कारण अमडुवा–७ २२ घर ५ मा २७ घर र ४ मा १४ घर डुबानमा परेका छन् । स्थानीय धमुना खोलामा आएको बाढीका कारण डुबान भएको हो । यसैगरी टेङ्ग्रा खोलामा आएको बाढीका कारण अमाहीबेला–४ मा ३४ घर र ५ मा २२ घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको तथ्याङ्कमा उल्लेख भएअनुसार पश्चिम कुशाहा–९ मा पानीको निकास नहुँदा नौ घर जलमग्न बन्न पुगेको छ । यता बूढीखोलामा आएको बाढीले अमाहीबेलाहा–८ मा पनि केही डुबानमा परेको छ ।

घर गोठ डुबानमा परेपछि मानिस भने अग्लो स्थानतिर सरेका र चौपायालाई खुला छाडिदिएको बताइएको छ । घर डुबानमा परेपछि खाद्यान्न र लत्ताकपडासमेत भिजेकाले समस्या परेको छ ।

प्रहरी उपरीक्षक पोषराज पोख्रेलका अनुसार आज बिहान ६ बजे सप्तकोसी नदीमा दुई लाख २२ हजार ९०५ क्युसेक प्रतिसेकेन्ड बाढी मापन भएको छ । बाढी निकासका लागि ब्यारेजका ३० ढोका खुल्ला गरिएका छन् ।

प्रतिक्रिया