तनहुँ, २ साउन । काठमाडौबाट पोखरा जाँदै गरेको बस फिल्मीशैलीमा लुटिएको छ । पेस्तोल देखाएर एक यात्रुले बसमा लुटपाट मच्चाएका हुन् । घटना आइतबार बिहान ३ बजेको हो । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६१९९ नम्बरको बस घाँसीकुवामा पुगेपछि पेस्तोल देखाउँदै एक युवाले बसलाई पोल्याङ लगेका थिए। बसका चालक, सहचालक तथा यात्रुबाट २५ हजार नगद तथा मोबाइलहरु लुटेपछि लुटेरा फरार भएका थिए । बस कब्जामा लिएर लुटपाट गर्ने तनहुँ काहुँशिवपुर गाविस १ का २४ बर्षीय रमेश विक भएको खुलेको छ । घटनाको डेढ घण्टाभित्रै उनलाई प्रहरीले दमौलीबाट पक्राउ गरेको छ । उनको साथबाट करिब सात हजार नगद र पाँचवटा मोबाइल बरामद भएको तनहुँका डीएसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । लुटपाट गर्नुका पछाडि बेरोजगारी मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । लामो समयदेखि बेरोजगार रहेका बिक रोजगारीको खोजीमा काठमाडौँमा पुगे पनि भनेजस्तो काम नपाएपछि घर फर्किएका थिए । घर फर्कने क्रममा नै उनले लुटपाट गरेका हुन् ।
प्रतिक्रिया