काली गण्डकी करिडोरले बाग्लुङ बलेवाका कैयावासीलाई पिडा दियो- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार ३१ गते १७:३३ मा प्रकाशित

unnamed

सरकारको राष्ट्रिय गौरभको आयोजना अन्तर्गत नवलपरासीको गैडाकोट देखि प्रारम्भ हुने कालिगण्डकी करिडोर मुस्ताङसँग जोडिएको चीनको सिमाना सम्म पुग्ने गरि निर्माण कार्य विभिन्न स्थानहरुमा नेपाली सेना र सडक विभागको जिल्ला डिभिजन कार्यालयहरुको अगुवाईमा निर्माण गर्ने क्रम अगाडी बढिरहेको छ । जसले गर्दा त्यस सडक आसपासमा पर्ने गाउँलेहरुमा खुशियाली छाउनु स्वाभाविक पनि हो । कृषकहरुले उत्पादन गरेको कृषिजन्य उत्पादनहरुलाई बजार सम्म पुर्याउन र स-साना घरेलु तथा साना उद्योगहरु संचालन गरेर समेत जीविकाउपार्जनलाई सहज बनाउन उक्त सडकले सहयोग गर्ने भरोसा गाउँलेहरुमा जागेको पनि पाईन्छ र यो सडकको निर्माण सँगै लुम्विनी, धवलागिरी, गण्डकीका अधिकांश जनताहरुले यातायातको भरपर्दो सुविधा पाउने पनि देखिन्छ ।

पक्कै पनि विकाशसँगै केही न केही विनाश हुन्छ नै तापनि कम विनाशबाट बढि विकाशको अपेक्षा राख्नु र सोही अनुसार आवस्यक पुर्वतयारी गरेर विकाशका गतिविधी बढाउनु पर्ने हुन्छ । यस्तैगरि यस काली गण्डकी करिडोर निर्माणको क्रममा विभिन्न स्थानमा ट्रयाक खोल्ने कामको सन्दर्भमा बाग्लुङ बलेवा नारायणस्थानको कैयामा बारैमास सिंचाईको सुविधा पुर्याउनको लागी प्रयोगमा ल्याईने स्थानिय धापे खोला देखि कैया सम्मको ३ वटै कुलो पुर्णरुपमा क्षति भएको छ । बर्खा( असार ) लाग्नु केही महिना पहिले देखि नै सम्बन्धित निकाय सडक डिभिजन कार्यालय बाग्लुङ देखि सम्बन्धित विभाग सम्म क्षति बारे लिखित जानकारी समेत दिएको र नेपाल सरकारका कृषि मन्त्री समेत पर्वत आउने क्रममा कैया गाउँमै समेत आमन्त्रण गरेर कुलोहरुको क्षति र त्यसले पारेको प्रभावका बारे जानकारी समेत किसानहरुले दिएकोमा कहिकतैबाट कुलोहरु मर्मतको लागी पहल नभएका कारण गाउँले किसानहरुले यो बर्खामा खेत रोपाई समेत गर्न नपाएको अवस्था छ ।
बलेवाकै तराई भनेर चिनिने बारैमास खेतीपाती(३ वटा बाली लगाउन सकिने) गर्न सकिने यस कैया गाउँका किसानहरुलाई जति सक्दो छिटो हाललाई अस्थायी रुपमै भएपनि कुलोहरु मर्मतसंभार गरेर खेत रोपाई गर्ने व्यवस्था मिलाउन नेपाल सरकारले तत्काल पाईला बढाउने प्रयास गरोस् र हिउँद लागेपछि तत्कालै स्थायी रुपमा कुलोलाई पक्की तवरबाट मर्मतसंभार गरि दिनको लागी समेत अनुरोध छ । ती तिनवटा कुलो बाहेक सिंचाई गर्ने कुनै स्रोत नभएकोले पनि जिल्ला सिंचाई कार्यालय, डिभिजन सडक विभाग देखि सम्बन्धित विभाग, मन्त्रालयले यथासंभव छिटो पिडित वर्गलाई राहत पुग्ने काम गरि देशमा राज्य भएको आभाष दिलाउन समेत अनुरोध छ ।
आगामी दिनहरुमा राज्यले यस्ता विकाश निर्माणका कामहरु अगाडी बढाउँदा समेत कमसेकम क्षति वा विनाश हुनेगरि काम बढाउन सके सम्बन्धित क्षेत्रका व्यक्तीहरुले समस्या र पिडा भोग्नु पर्ने थिएन । यस बिषयमा सम्बन्धित निकायहरुको समयैमा ध्यान जानु आवस्यक छ । अहिले सम्म पनि सडक विभाग, संचार एवं विद्युत विभागको समन्वयको अभावमा शहरी क्षेत्रमा सडक कालेपत्रे गरेको एक दुई दिनमै भूमिगत विद्युत तार र टेलिफोन लाईनहरु बिछ्याउन पुन सडकमा खाल्डाहरु पार्ने गरिन्छ त्यसमा समेत आपसी समन्वय हुन सके धेरै मितव्ययीरुपमा कार्यहरु सम्पादन हुने समेत देखिन्छ । अत: विकाशका कार्यहरुलाई जनताको अधिकतम कल्याण हुने गरि अगाडी बढाउनु आवस्यक देखिन्छ ।

prakash 1

प्रतिक्रिया