अोलीको जस्तो बोली अरुको भएको भए….

इनेप्लिज २०७३ असार ३१ गते १७:२९ मा प्रकाशित

SARGAM

सामाजिक मिडियामा अाज भोलि जम्मा दुई वादीहरु छताछुल्ल छन् : एकथरी पदबाट अस्ताउनै लागेका प्रधानमन्त्री ओलीवादी र अर्को थरी काम भने नगर्ने तर ओलीलाई लडाएर सत्तारसमा उद्दत ढोलीवादी । बाटो घाटो चौतारोमा देखिएका यी दुई कित्तामा मान्छेहरुले बहस चलाईरहँदा मलाई कता हो कता यताको न उताको जस्तो लाग्न थाल्यो। यी दुई कित्ता मध्ये मलाई एउटा कित्ता रोज्नै पर्ने भो । अनि मैले सोँच बिचार गरेरै अन्तत: ओलीवादी भएँ ।

म ओलीवादी हुनुमा ओलीको हनुमान भएर हुँदै होईन , किनकी मलाई ब्यक्तिगत रुपमा केहि बन्नु नै छैन, केहि पाउनु पनि छैन । उनको टाट आलोचक भएर उनको कित्तामा आउने त कुरै भएन तर देशको प्रधानमन्त्री, देशको अभिभावक ओलीको राम्रो पक्षलाई मनन गरेर बचावट तर्फ लाग्नु नै मेरो धर्म ठानेँ मैले । तर जनताले भोगेका सास्ती र कुर्सीका आसेपासेहरुको मस्ती पटक्कै मन परेको छैन मलाई । तर सबै समस्याको जादूमय समाधान एकैपटक हुँदैन भन्ने सास्वत सत्यले चित्त बुझाउनु नै पर्छ । यस अर्थमा मैले ओलीको हैन निर्वाचित प्रधानमन्त्रीको सपोर्ट गरेको हो ।

ओली यो देशको कार्यकारी प्रधानमन्त्री हुन् , उनी कसैको निगाहले प्रधानमन्त्री भएका पनि होईनन् र कसैको बंशनाश गरेर प्रधानमन्त्री भएका पनि होईनन् । यस अर्थमा बहुमतले चुनिएका प्रधानमन्त्री एमालेका मात्रै प्रधानमन्त्री होईनन् उनी पूरै नेपालका प्रधानमन्त्री हुन् , पूरै जनताका प्रधानमन्त्री हुन् र हुनुपर्छ, एमालेका एउटा गुटका नेता र कार्यकर्ताका मात्रै प्रधानमन्त्री होईनन् र हुनुहुँदैन ।

प्रजातन्त्र पुनर्स्थापना पछि समय नपुगी पटक पटक भएका सरकार परिवर्तनले जनतामा के सन्देश दिएको छ भने प्रधानमन्त्रीहरु न देशका भएका छन् , न पार्टीका भएका छन् यीनीहरुलाई त गुटको प्रधानमन्त्री वा शक्तिकेन्द्रका गोटी मात्र मानिएको छ । यहि कटू नीतिको शिकार हिजो देखि आजका प्रधानमन्त्री भएका छन् । पछिल्लो समय सामाजिक संजालको बढ़्दो प्रयोगले सकारात्मक भन्दा नकारात्मक टिप्पणी गर्नेको झुण्ड एकाएक बढिरहेको छ । कतिखेर कस्ले के बोल्ला र त्यसको देवत्वकरण या अट्टहास गर्न पाउँला भनेर अहोरात्र आँखा उघार्नेहरु यता उता देख्न सकिन्छ । पछिल्लो समयको सत्ता समिकरणको खिचलो पनि यहि प्रबृर्तिको ज्वलन्त उदाहरण हो ।

संसारले बिकास र प्रबिधिमा उल्लेख्य फड्को मार्यो, तर हामीहरु युवाहरु निर्यात गरेर समृद्धिको गफ हाँकिरहेका छौँ । धन्न रेमिट्यान्सले हाम्रो चुल्हो बलेको छ नत्र के के हुन्थ्यो । यस्तै कठिन समयमा न हाम्रो राजनीतिमा स्थायित्व छ न त प्रकृतिले नै साथ दिएको छ नत हाम्रा मित्र राष्ट्रहरुको नै सदासयता देखिएको छ ।

भनिन्छ राजनीतिले देश बदल्छ, बदल्नुपर्छ तर आफू र आफ्ना कार्यकर्ताको मात्र जीवनस्तर मात्र बदल्ने राजनीतिले जनतामा बितृष्णा पक्कै ल्याएको छ ।

कुनै पनि देशको जनताले चुनेको दल र उनैले चुनेको प्रधानमन्त्री पद आफैमा खराब कसरी हुन्छ ? खराब बनाउने र खराब साबित गर्नमा तपाई हामी जस्ता यस् कार्यकर्ता, टाट आलोचक र सुषुप्त नागरिक र सत्यता बंगाएर लेख्ने कलमचरी पत्रुकारहरुको पनि कम दोष छैन ।

संसदबाट निर्वाचित प्रधानमन्त्रीले पूरा समय काम गर्न नपाउँदै बन्ने नयाँ नयाँ सत्ता समीकरणले देशको अर्थतन्त्र र जनताको मन लाई धुजा धुजा पारेको छ । बिगत २६ बर्षमा बनेका दुई दर्जन सरकारले देशमा भि. आई. पी. उत्पादन गरि भ्रष्टाचार बढाउने बाहेक केहि उल्लेख्य काम गरेकै छैनन् । गिरीजा प्रसाद कोईराला, मनमोहन अधिकारी, शेर बहादुर देउवा , प्रचण्ड , बाबुराम लगायत सबैजसो प्रधानमन्त्रीहरु यहि प्रबृर्तिको शिकार भएकै हुन् । अझै पनि प्रगतिशील ठानिएको संबिधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यवस्था नहुनुको पीडा अहिले देशले भोगिरहेको छ , हामीले भोगिरहेका छौ ।

प्रधानमन्त्री ओलीको सरकार यतिखेर अप्ठेरोमा छ, नौ महिना देखिको सरकार फेर्न नयाँ राजनैतिक समीकरण पछि अर्का थरीहरु सपना बाँडिरहेका छन्, तुईन हटाउने, लोडशेडिंग मुक्त गर्ने, फाष्ट ट्र्याक आफै बनाउने , पाईप लाईनबाट ग्याँस ल्याउने, चुच्चो परेको रेल चलाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने आदि आदि ओलीले बोलेका बोलीहरुका सपनाको दहन गर्न गईरहेका छन् । अझ अब प्रचन्ड र देउवा पालै पालो प्रधानमन्त्री बन्ने सहमती भन्ने समाचार पढ्दा त यस्तो लाग्छ देश उनीहरुको पेवा हो र हामी जनता उनका फगत गोटी मात्रै । आज प्रचन्ड चढ्दा ओली झर्लान्, तर भोलि फेरि असहयोगको सिलसिला चलिरहँदा देश कहिल्यै उँभो लाग्ने छैन । तर कहिले बाघ संग त कहिले बिरालो संग दोस्ती गर्दै केहि समयमा सत्ता परिवर्तन गर्नु भनेको बाँदरलाई लिस्नु जस्तो भएको छ ।

हो ! अर्को तर्फ भुकम्प पिडितहरु पालमुनि छन् , कालो बजारी बढिरहेकै छ, भ्रष्टाचार बढिरहेकै छ, युवाहरु बिदेशिएकै छन्, आन्दोलनहरु भईरहेकै छन्, बिवादित निर्णयहरु भईरहेकै छन्, देशका हरेक क्षेत्रहरु तहस नहस छन् । यसै बेला धेरै बिमतीका स्वरहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई सरापिरहेका छन् मानौ यी दुबै अभिसाप थिए । बोलेका कुरामा गुणात्मक सुधार भएकै छैन तर सुधार गर्ने काममा राजनैतिक पार्टी ,नागरिक समाज कर्मचारीतन्त्र, ग़ैरसरकारी संस्था, पत्रकार आदिले गर्ने दायित्व के हामीले पूरा गरेका छौँ त ?

प्रधानमन्त्रीले धेरै कुरा बोलेर जनता हँसाएका पक्कै थिए तर देशघाती काम गरेका छैनन्, देश कसैलाई सुम्पने कुरा गरेका छैनन् , स्वर्गमा सिँढी बनाउछु भनेका छैनन् । आकासमा शहर बनाउँछु भनेका छैनन् , उनले बोलेका धेरै कुराहरु तथ्य र लक्ष्य नजिक छन् । ओलीका बेला बेलाका बोलीहरुले जनतालाई सपना देखाएका छन् , अहिलेको युगमा बिकास र समृद्धिको सपना देख्नु पनि के अभिसाप हो र ? यसलाई खोक्रो राष्ट्रवाद भन्नेहरुले सोचौँ यो भन्दा पहिलेका कुन प्रधानमन्त्रीको पोटिलो राष्ट्रवाद देख्नु भो ? राजनैतिक दलका नेता मात्र पोटिलो हुँदा देश दुब्लाएको कुरा लुकाएर कहाँ लुक्छ र ?

के अझै पनि हामीले दास भएको, अशिक्षित भएको, अभाव भएको र दबिएको दबाईएको सपना देखिरहने हो र ? के अब जनताको समस्या माथि टेकेर सधैभरि सत्तालिप्सामा झुन्डिने हो कि केहि गर्ने हो ? जस्ले सोच्छ , त्यसैले सपना देख्छ, र सपना देख्नेले बाटो पनि ठम्याउँछ। तर यसै गरि सरकार बदल्ने खेल खेलिरहने हो भने जनताले दलहरुबाट के आशा गर्ने ?

अर्कोतर्फ के देशको कार्यकारी प्रधानमन्त्रीले बोलेको कुरालाई सधैभरि ब्यंग गरेर उडाएर हामीले पाउने कुरा केहि छैन, हामीले त आफ्नै भविष्य उडाईरहेका छौ, दुत्कारिरहेकानछौँ । हामीले यसै गरि हरेक प्रधानमन्त्रीलाई कसैले उडाएर, त कसैले समीकरण बदलेर, त कसैले देश बिदेश हार गुहार गरेर बोल्न र गर्न र टिक्न नदिने हो भने देश कसरी बन्छ ? एउटा सरकारले आफ्नो एउटा बजेट पनि कार्यान्वयन गर्न नपाउँदै कुर्सी धरापमा परिरहने हो भने देश कहिले उँभो लाग्ने ?

हो ! ओली मात्र होईन नेपालको प्रधानमन्त्री भगवान भएर आए पनि बोलेका सबै कुराको जादूमय समाधान यूँ हुन सक्दैन, त्यसका लागि समय लाग्छ । त्यतिन्जेल बरु यो काम किन भएन भनेर सहयोग सहितको खबरदारी गर्नु हाम्रो दायित्व हो कि होईन ? के देशको अभिभावक प्रधानमन्त्रीहरुले बोलेको कुरालाई यति निम्नस्तरले आलोचना गर्नु सभ्य राजनीतिक संस्कार भित्र पर्छ र ?

त्यसैले म त भन्छु सबै प्रधानमन्त्रीहरुले सपना देख्नुपर्छ: कर्मचारी, पत्रकार, नागरिक र दलहरुले निश्चित समय सम्म सरकार बदल्ने खेल खेल्नु हुँदैन , राम्रो काम गर्नेहरुलाई जनताले पत्याउँछन् , नराम्रो काम गर्नेहरु बढारिन्छन् । अरु दल समूह र बिचारको आलोचना गर्नु भन्दा आ-आफ्नो दल समूह र बिचारमा सुधार गर्नुपर्छ ।कमसेकम ईतिहाँसमा यति धेरै सपना बाँड्ने प्रधानमन्त्रीलाई दुई चार सपना पूरा गराउन समय दिएर खबरदारी गरेको भए राम्रो हुन्थ्यो। भोलि प्रधानमंत्रीको रुपमा आउने सबैको म्याद गर्भे म्याद मात्र नहोस् । तर ओली जाँदा जाँदै ओलीले देखाएका सपना सम्झेर जनताहरु सबै ओलीवादी हुने अवस्था आयो भने अरु दलहरुले पो के गर्ने हुन् ?
बरु अब बन्ने प्रधानमन्त्रीले जनताबाट निर्वाचित कार्यकारीका लागि अडान लिन सके यो प्रबृर्तिको अन्त्य हुन्थ्यो कि ?
अस्तु !

प्रतिक्रिया