नेपालका राजनीतिक दलले तमाम मजदुरलाई झुक्याइ राखिरहेका छन्

बेद प्रसाद घिमिरे २०८१ वैशाख २० गते ९:५० मा प्रकाशित

हाम्रो समाजको एउटा ठूलो हिस्सा यस्तो वर्गको छ, जो अभावमा जन्मन्छ र जीवनभरि ज्याला मजदुरी गरेर आफ्नो भाग्यसँग लडिरहेका हुन्छन् । खेतमा अन्न उत्पादन गर्छन्, तर भोकभोकै सुत्छन् । सबैको घर बनाउँछन् तर आफू आकाशमुनि रात बिताउँछन् । कपडा फ्याक्ट्रीमा काम गर्छन्, तर आङमा लुगा हुँदैन । सडकमा जन्मन्छन् र सडकमै बित्छ जिन्दगी । काम पायो भने खान पायो, काम नपाएको दिन भोकभोकै सुत्नेको जमात बढ्दो छ ।

न त यिनका छोराछोरीले स्कुलको मुख देखेका हुन्छन्, न त औषधि–उपचारका लागि अस्पताल नै धाउँछन् । यस्ता गरिखाने वर्गलाई मौसम परिवर्तनले पनि छेक्दैन । श्रममा आश्रित परिवारलाई चिसो, गर्मी या वर्षा आदिले कुनै असर पुर्याएको हुँदैन । उनीहरू बाह्रै महिना बाह्रैकाल आफ्नो ज्याला मजदुरीसँग मात्र सरोकार राख्छ्न । सधैंभरि विकास निर्माणका कार्यहरूमा श्रम खर्चिरहेका हुन्छन्, तर पनि सुख शान्तिले खान र बस्न पाउँदैनन्।

श्रमजीवी वर्गप्रति राज्यको दोश्रो दर्जाको व्यवहार समस्या समाधानमा तगारो बनेर उभिएको पाउँछौं ।

राज्यको विभेदविरुद्ध लडेर आफ्नो हक अधिकार प्राप्त गर्न सहायक शक्ति संगठन हो । एउटा आदर्श संगठन त्यो हो, जो सामान्य ब्यक्तिको असमान्य कार्यमा तत्परता एबं सहयोग पुर्याउँछ, त्यो सच्चा संगठन मानिन्छ । हुन त, संगठन आफैँमा साध्य होइन र पनि सांगठानिक शक्तिले बडेबडेलाई घुँडा टेकाउने ल्याकत राख्ने भएकाले आशा र विश्वास दिलाएको हुन्छ । फेरि पनि संगठनको क्षमताको जाँच त्यसको संरचना विकास, अनुशासन, नीति, कार्यशैली आदिमा निर्भर गर्ने विषयले धेरै कुराहरूको निर्कौल गर्छ।

देशभरि च्याउ उम्रेसरी संघ–संगठन हुँदा पनि श्रमजीवी वर्गको जीवनले कहिले काँचुली फेर्न सकेन । जबकि मजदुर नेताहरूको जीवन समृद्धिले फेरिने तर मजदुर सधैं अभावमा बाँच्नुपर्ने बिडम्वनापूर्ण स्थितिको अन्त अझै हुन नसक्नु अत्यन्तै दुःखद पक्ष हुन्दैनिक ज्यालादारी श्रमिकहरूका न्युनतम मागहरू पनि पूरा गराउन नसक्नु लज्जाका विषय हुन् । पटक पटकको मजदुर आन्दोलनलाई बीचैमा तुहाउन खोज्ने कारण धेरै छन् । सरकार स्वयं दलाल पुँजीपति वर्गको पक्षपोषणमा लाग्नु, दलगत राजनीतिमा मजदुर शक्ति विभाजित हुनु, मजदुर संगठनका नेताहरू आ–आफ्ना दलका नेताहरूको चाकडी गर्ने र झोला बोक्ने प्रवृत्ति आदिले मजदुर आन्दोलन दिनानुदिन कमजोर बन्दै गएको छ । त्यहीकारण श्रमजीवी वर्गको जीवनले कहिले काँचुली फेर्न नसक्नु दुर्भाग्यपूर्ण मानिन्छन जुन वर्गले विकास र समृद्धिमा आफ्नो श्रम खर्चियो, सबैको हक अधिकारका लागि लड्यो आज त्यही वर्गको वर्तमान पिडादायक छ । भबिष्य अन्धकारमय छ । अझै पनि यहाँ श्रम र पसिनाको कुनै मूल्य र सम्मान छैन । श्रमजीवी वर्गप्रति राज्यको दोश्रो दर्जाको व्यवहार समस्या समाधानमा तगारो बनेर उभिएको पाउँछौं । जबकि हरेक मजदुर आन्दोलन परिवर्तनको बाहक बनेर थुप्रै राष्ट्रियस्तरका नेताहरू जन्माए, सत्तामा पुर्याएर देशको कार्यकारी प्रमुखको कुर्सी बिराजमान गराउँदासम्म पनि श्रमजीवी वर्गका जल्दाबल्दा मुद्दाहरूले कहिले महत्व पाएनन् ।

यस्तो परिस्थितिमा मजदुर स्वयंले आफ्नो वर्गीय संघर्ष गर्नुको अर्को विकल्प देखिँदैन।

प्रतिक्रिया