महोत्तरीका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर

इनेप्लिज २०७३ असार ३० गते ६:१९ मा प्रकाशित

गौशाला, ३० असार । महोत्तरी जिल्लाका ३२ हजार बालबालिका अझै विद्यालय बाहिर रहेका छन् । जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार वल्र्ड एजुकेसनले विसं २०६८ को जनगणनालाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्याङ्कले महोत्तरीका ३२ बालबालिका अझै विद्यालयसम्म नगएको देखाएको छ ।
उहाँले जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा कक्षा १० सम्म ८५ हजार २०४ विद्यार्थी अध्ययन गरिरहे तापनि यहाँका संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या अझै नआइदिएको र दर्ता नै नभएका ३०० भन्दा बढी विद्यालय र मदरसाबाट पनि विद्यालयभित्र र बाहिर रहेका विद्यार्थीको सहि तथ्याङ्क निकाल्न गाह्रो भएको बताउनुभयो ।

विद्यालय बाहिर रहेका विद्यार्थीमध्ये झन्डै ६० प्रतिशत बालिका रहेका र सोमध्ये पनि मुस्लिम, दलित र पिछडावर्गबाट अत्यधिक बालिका तथा किशोरीहरु विद्यालय बाहिर रहेको वल्र्ड एजुकेसनको सहयोगमा समाज विकास केन्द्र नामक संस्थाले आठ गाविसमा गरेको तथ्याङ्क सङ्कलनले देखाएको छ ।

यसरी हजारौँको सङ्ख्यामा बालबालिका विद्यालय बाहिर रहनुले महोत्तरी जिल्लाको भविष्य अझै अन्धकारमय हुने जिल्लाका बुद्धिजीवीहरुको ठहर छ भने उनीहरुले जिल्ला शिक्षा कार्यालय तथा सम्बन्धित पक्षसँग विद्यालय पुग्न नसकेका बालबालिकालाई यथाशीघ्र विद्यालय पुग्ने वातावरण तयार गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया