उपभोक्ता हित विपरीत व्यवसाय गर्नेलाई कारबाही गरिने

इनेप्लिज २०७३ असार २५ गते १२:०६ मा प्रकाशित

काठमाडौँ, २५ असार । आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालय सहितको टोलीले पछिल्लो समय औषधि, माछा मासु, दूध, मिठाइ र तरकारीमा गरेको अनुगमनमा ती वस्तु उपभोक्ताको स्वास्थ्यको हित विपरीत रहेको पाइएकाले कडा कारबाही गरिने बताउनुभयो ।

अनुगमनलाई थप प्रभावकारी बनाउन मन्त्रालय, मन्त्री, सरोकारवाला निकाय मात्रैले गर्न नसक्ने बताउँदै त्यसको लागि नेपाली जनता र उपभोक्ताले पनि सहयोग गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।

आगामी दिनमा काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि नियमित रुपमा अनुगमन गरिने जानकारी उहाँले गराउनुभयो । अनुगमनका क्रममा गल्ती ठहर भएका केही औषधि र मासु पसललाई सिलबन्दी गरिएको छ भने केही तरकारी पसल र मिठाइ पसललाई तीन दिनभित्र सम्बन्धित कागजपत्र लिएर विभागमा आउन निर्देश दिइएको छ ।

आपूर्ति मन्त्रालय, विभाग र सरोकार भएकाहरुको टोलीले पाँच दिनदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनुमगन गरिरहेको छ ।

प्रतिक्रिया