एक सय विद्यार्थीलाई अनेरास्ववियुको छात्रवृत्ति

इनेप्लिज २०७३ असार २३ गते १३:२१ मा प्रकाशित

काठमाडौँ, २३ असार । अनेरास्ववियुले प्रवेशिका परीक्षा उत्तीर्ण १०० विद्यार्थीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।
नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ६५औँ जन्मजयन्तीका अवसरमा अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा ग्रामीण क्षेत्रका विपन्न, दलित, उत्पीडित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले राष्ट्रियताको जगमा उभिएको वर्तमान सरकार कसैले चाहँदैमा परिवर्तन नहुने बताउँदै सरकारले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिपक्षलाई जिम्मेवार हुन आग्रह गर्नुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले सीपमूलक र व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले अबको शिक्षा उत्पादन र प्रविधिमैत्री बनाई विद्यार्थीलाई रोजगार बनाइने जानकारी दिनुभयो । अनेरास्ववियुका सचिव आरसी लामिछानेले पहुँचवालाले मात्र छात्रवृत्ति पाइरहेको अहिलेको अवस्थामा दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष १०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।

छात्रवृत्तिका लागि दुर्गम क्षेत्रका उत्पीडित, अल्पसङ्ख्यक, मुक्तकमैयाका छोराछोरी, सहिद परिवार, द्वन्द्वपीडित, भूकम्प प्रभावित, पिछडिएको क्षेत्रका विद्यार्थी हुनुपर्नेछ ।

प्रतिक्रिया