राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

इनेप्लिज २०७३ असार १७ गते ६:२५ मा प्रकाशित

काठमाडौँ, १७ असार । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ बमोजिम स्थापित राष्ट्रिय परीक्षा बोर्डले कार्यारम्भ गरेको छ । राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको भोलिपल्ट बिहीबारदेखि बोर्ड क्रियाशील भएको हो ।

ऐनले साबिकको उच्चमाध्यमिक शिक्षा परिषद्लाई बोर्डमा रुपान्तरण गरेको थियो भने बोर्डमा अध्यक्ष नियुक्ति नभएसम्म उपाध्यक्ष शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई अध्यक्षको कार्यभार दिइएको छ ।

बोर्डको सदस्य सचिवमा शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीलाई तोकिएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्मध्येबाट कम्तीमा एकजना महिला पर्ने गरी शिक्षा मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको सिफारिस समिति रहने ऐनमा व्यवस्था छ । परिषद्का उपाध्यक्ष चैतन्य शर्मा स्वतः मुक्त हुनुभएपछि नयाँ नियुक्तिको तयारी भएको हो ।

बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट ऐन कार्यान्वनका लागि विभिन्न निर्देशन दिइएको छ । निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयले गरी आएको कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) सम्बन्धी कार्य हाललाई यथावत् रूपमा सोही कार्यालयमार्फत सञ्चालन गर्ने गराइनेछ । परिषद्को कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालयलाई बोर्डको कक्षा ११ र १२ को परीक्षा नियन्त्रण कार्यालय कायम गर्ने र अन्तर्गत कार्यालयलाई अर्को निर्णय नभएसम्म बोर्डका शाखा कार्यालयको रूपमा कायम गरिनेछ ।
मन्त्रालयका अनुसार बोर्डमा कार्य गर्नका लागि कक्षा १० को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी)को परीक्षा नियन्त्रण कार्यालयका सम्पूर्ण कर्मचारीलाई खटाइनेछ । परिषद्का कर्मचारीहरू बोर्डका कर्मचारी मानिने व्यवस्था भएकाले सबै कर्मचारीलाई तत् तत् पदमा बोर्डको कर्मचारी कायम भएको पत्र दिइनेछ ।

ऐनको आठौँ संशोधनअनुरुप शिक्षा नियमावली संशोधन मस्यौदा तयार गर्न मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखाका सहसचिव डा हरिप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको छ । सोबमोजिम शिक्षा नियमावलीको संशोधनपछि अस्थायी शिक्षकलाई दिइने सुविधा र शिक्षक स्थायी गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

कक्षा ११ र १२ को अनुमति÷सम्बन्धनसम्बन्धी कार्य गर्नका लागि प्राप्त भएका निवेदन छानबिन गरी आवश्यक निर्णयका लागि पेस गर्न शिक्षा विभागमा महानिर्देशकको अध्यक्षतामा, शिक्षा विभागको शैक्षिक व्यवस्थापन महाशाखाका निर्देशक र साबिकको उच्च माध्यमिक शिक्षा परिषद्मा सम्बन्धन महाशाखा हेर्ने महाशाखा प्रमुख सदस्य रहने गरी समिति गठन भएको छ ।

परिषद्ले गरी आएको उच्च माध्यमिक तहको विद्यालय व्यवस्थापन÷प्रशासनसम्बन्धी कार्य शिक्षा विभागले गर्नेछ । परिषद्को पाठ्यक्रम महाशाखाले यससँग सम्बन्धित अभिलेख तथा कागजात पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

परिषद्बाट छात्रवृत्ति छनौट गर्न सूचना प्रकाशित गरेको परीक्षा, शिक्षा विभागले व्यवस्थापन गर्नेछ र परीक्षा व्यवस्थापन गर्न साबिकको बोर्डअन्तर्गतका कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सञ्चालन गर्नेछन् । नतिजा प्रकाशन जिल्ला शिक्षा कार्यालयले गर्नेछन् ।

प्रतिक्रिया