शनिबार, असोज ३० २०७८
काठमाडौं २३:०३
वासिङटन डिसी 13:18

पुरातात्विक महत्वको चट्टान अभिलेखको अस्तित्व सङ्कटमा

इनेप्लिज २०७३ असार १४ गते ५:४० मा प्रकाशित

भक्तपुर, १४ असार । नगरकोट नगरपालिका–१, ताथली नालाछापमा अवस्थित पुरातात्विक एवम् ऐतिहासिक महत्वको चट्टान अभिलेखको अस्तित्व सङ्कटमा परेको छ ।

सम्बन्धित निकायले यसको संरक्षणमा चासो दिएका छैनन् र यो दिनप्रतिदिन खिइँदै गएको छ । इतिहासमै दुर्लभ मानिने र नेपालकै पहिलो मानिएको चट्टान अभिलेख पत्ता लागेको आधा दशक भइसकेको छ । इतिहासकार एवम् संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले सो अभिलेख २०६७ साल पुसमा पत्ता लगाउनुभएको हो । पत्ता लागेको आधा दशकमा अभिलेख रहेको स्थानलाई तारबार लगाउने बाहेक संरक्षणका लागि अन्य कुनै काम भएको छैन । सो तारबार पनि अहिले ठाउँ ठाउँमा बिग्रिसकेको छ ।
खुला आकाशमुनि रहेको सो अभिलेख घामपानीले बिस्तारै खुइलिँदै गइरहेको छ भने उच्छृङ्खल व्यक्तिले जथाभाबी कोर्ने गर्दा पुरातात्विक र ऐतिहासिक महत्वका अक्षर तथा चित्र बिग्रँदै गइरहेको छ । यस्तै अवस्था रहिरहे केही वर्षपछि चट्टान अभिलेखको अस्तित्व समाप्त हुने खतरा बढेको छ ।

डा श्रेष्ठका अनुसार सो अभिलेख मल्लकालीन हो । नालाछापको बासुकी नागस्थान र पल्लो ठूलो पाखो सामुदायिक वनको करिब १०० मिका क्षेत्रमा यत्रतत्र छरिएर रहेको एक दर्जन ती अभिलेखमा मल्लकालीन चित्र तथा अक्षर कुँदिएका छन् । करिब छ फि लम्बाइ र दुई फि चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाइ, हात्ती र घोडाको चित्रका साथै नेवारी लिपिमा लेखिएका अक्षर समेत कोरिएका छन् । ती अभिलेखमा मल्लकालीन राजाले मन्दिर र धारा निर्माणका लागि ढुङ्गा लिन गएको विवरण उल्लेख गरिएको श्रेष्ठले बताउनुभयो । ती क्षेत्रमा उत्खनन गर्न सके अन्य विविध जानकारीयुक्त अभिलेख समेत फेला पर्न सक्ने श्रेष्ठको भनाइ छ ।

ती चट्टान अभिलेख काठमाडौँका तत्कालीन राजा प्रताप मल्लका पालामा नेपाल संवत् ७७८ मा कुँदिएको डा श्रेष्ठको जिकिर छ । त्यसैगरी भक्तपुरका मल्ल राजा जितामित्रले पनि नेसं ८३१ मा केही चट्टानमा विभिन्न अभिलेख कुँद्न लगाएको पाइएको डा श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले सो अभिलेखका बारेमा ‘चट्टान अभिलेख र अन्य सम्पदा’ नामक पुस्तक समेत प्रकाशन गरिसक्नुभएको छ ।

नेपालमै पहिलो पटक पत्ता लागेको चट्टान अभिलेख संरक्षणमा सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासी बताउँछन् । स्थानीयवासी सजन थापाले स्थानीय नगरपालिका र पुरातत्व विभागले यसको संरक्षण गर्नुपर्ने बताउँदै स्थानीयस्तरमा पनि संरक्षणका लागि कुनै पहल हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले स्थानीय जनतालाई समेत यसको महत्वका बारेमा जानकारी दिनुपर्ने औँल्याउनुभयो । चट्टान अभिलेख अवलोकन गर्न विभिन्न विद्यालय र कलेजका विद्यार्थी तथा प्राध्यापक एवं शिक्षक बेला बेलामा आउने गरेका छन् ।
डा श्रेष्ठ विश्वकै दुर्लभ चट्टान अभिलेखलाई संरक्षण गर्न अति हतार भइसकेको बताउनुहुन्छ । उहाँले यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने गरी कार्य अगाडि बढाउनुपर्ने भए पनि सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गर्नुभयो ।

पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह केन्द्र भक्तपुरका प्रमुख मङ्गला प्रधानले केही वर्षअघि सामुदायिक वन क्षेत्रमा रहेको चट्टान अभिलेख क्षेत्रमा जनावर र मानिस पस्न नमिल्ने गरी काँडेतार लगाउने बाहेकको अन्य काम हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले सम्पदा संरक्षणको परियोजनाभित्र चट्टान अभिलेख नपरेकाले पनि सो अभिलेखको संरक्षणतर्फ काम हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“ हाल गत वर्षको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण मात्र ध्यान केन्द्रित भइरहेकाले पनि यस्ता पुरातात्विक महत्वका संरचना संरक्षणमा ध्यान पुग्न नसकेको हो । ” । प्रधानले पुरातत्वविद् र संस्कृतिविद्सँग आवश्यक छलफल र परामर्श गरी सो अभिलेखको संरक्षण अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले आफूलाई चट्टान अभिलेखकाबारेमा जानकारी नभएको बताउनुभयो । उहाँले भर्खरै नगरपालिकामा प्रमुख भएर आएको बताउँदै चट्टान अभिलेखका बारेमा विस्तृत जानकारी हासिल गरी सो क्षेत्रको स्थलगत अवलोकनपछि संरक्षणका लागि आवश्यक योजना निर्माण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया