भोकले बालिका जब विद्यालयमै बेहोस् भइन्

इनेप्लिज २०७३ असार ९ गते १५:१५ मा प्रकाशित

 

 

20160623_070347[2]एकाबिहान विद्यालय पुगेकी बगही (रौतहट) घर भई गरुडामा काकाको घरमा पढ्न बसेकी करिब ८ बर्षीया बालिका अञ्जली कुमारी महतो विद्यालयको कार्यतालिका अनुसार पढाइ सुरु हुनु अगावै नियमित गराइने प्रार्थना र राष्ट्रिय गानको लागि सबै साथीजस्तै लाइनमा उभिइन् । रौतहटको गरुडास्थित उच्च माध्यमिक विद्यालयको कक्षा २ मा अध्ययरत बालिका अञ्जली विहीवार बिहान लाइनमै बेहोस भएर ढलिन् ।

बालिका ढलेपछि उठाएर विद्यालयको कार्यालयमा पंखाको हावा लागिरहेको एउटा कुर्सीमा बसाली अनुहारमा पानी छम्कँदा अञ्जली होसमा आइन् । आकाशभरि कालो बादलले डम्म घेरेको र वातावरण पनि शीतल नै भएको एकाबिहान अञ्जली बेहोस भएको कारणबारे प्राचार्य प्रभु राउत पटेलले सोधेपछि अञ्जलीको बेहोसीको कारण ज्यादै सम्वेदनशील विषय देखियो ।

अञ्जलीले घरबाट खाजा खाएर आएकी थिइनन् । घरमा खाजा केही पनि नभएकोले बालिकाले खाजा खान नपाएकी हुन् । हिजो साँझ पनि बालिकाके केही खान पाएकी थिइनन् । घरमा केही पनि नभएकोले आमाले हिजो दिउँसो बगही (आफ्नो गाउँ) जानु भएको र फर्केर आएर खाना पकाउँदाको बेलासम्म आफू निदाइसकेकोले खाना खान नपाएको अञ्जलीले खुलासा गरिन् । अञ्जली निदाएपछि सबै खाना घरकाले बाँडेर खाएको रहस्य अञ्जलीले खोलिन् ।
विद्यालय आएकी बालिका भोकले लाइनमा नै बेहोस भएको कारण बुझेपछि प्राचार्य राउतले बिस्कुट किनेर दिएपछि कार्यालयमै बसी खुसी भएर खाइन् । बिस्कुट खान पाउँदा बालिकाको अनुहार निकै उज्यालो देखिएको थियो । बालिकाको अभिभावक कामको लागि काठमाडौँ गएको उनैले शिक्षकहरुलाई बताएकी थिइन् ।
विद्यालयमा कम्तीमा एकदेखि तीन कक्षासम्मका बालबालिकालाई सामान्य खाजाको व्यवस्था हुनसके गरिब घरका बालबालिकाहरु रमाई रमाई पढ्न आउँथे भन्ने विचार विद्यालयका शिक्षक प्रकाश चन्द्र झाको रहेको छ ।

प्रतिक्रिया