रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले योगाले शरीर र मन दुवै स्वस्थ हुने बताएका छन् । नेपाल–भारत मैत्री संघ रौतहटको आयोजनामा सदरमुकाम गौरमा मनाइएको दोस्रो अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा प्रमुख अतिथि प्रजिअ बरालले योगाले मानिसलाई शारीरिक र मानसिक दुवै फाइदा गर्ने हुनाले योगा गरी स्वस्थ्य शरीर र शुद्ध मन बनाउन सबैलाई सुझाव दिएका छन् । योगाको महत्व अन्तर्राष्ट्रिय रुपमा बढेको बताउँदै प्रजिअ बरालले मानसिक शान्तिको आवश्यकता रहेको वर्तमान बदलिँदो परिवेशमा सबैलाई योगा चाहिने बताए ।
कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगंजकी प्रमुख महावाणिज्यदूत अन्जु रञ्जनले योगाको परम्परा हाम्रो संस्कृतिको प्राचीन परम्परा रहेको बताएकी छन् । महावाणिज्यदूत रञ्जनले योगालाई नेपाल र भारतको मैत्रीको प्रतीकको रुपमा योगको विकास गरिनुपर्ने धारणा समेत राखेकी छन् । जिल्लाका कार्यालय प्रमुख, राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, विद्यार्थी तथा शिक्षकहरु समेतको उपस्थिति रहेको कार्यक्रममा एकजना योगा गुरुले करिब दुई घन्टा योगाको अभ्यास गराएका छन् । कार्यक्रमले योगाको महत्वप्रति सबै पक्षको ध्यान सकारात्मक रुपमा आकृष्ट भएको एकजना सहभागी रौतहट उद्योग वाणिज्य संघका महासचिव वृजकिशोर यादवले बताएका छन् ।
सञ्जय मित्र, रौतहट
प्रतिक्रिया