पूर्व राजा वीरेन्द्रको प्रेरणाले बिना लगानी बाह्र किमी सडक निर्माण गरे साँसद प्रभु साह

इनेप्लिज २०७३ जेठ २६ गते १७:३७ मा प्रकाशित

20160606_093749

कतिपय ठाउँमा सडकमा बालुवा छरेजस्तो गरेर बिल–भर्पाई बनाएर त्यत्तिकै बजेट स्वाहा पारेको सुनिन्छ तर रौतहटका एक साँसदले भने पैसा लगानी नगरीकनै करिब बाह्र किलोमिटर सडक निर्माण गरेको बताएका छन् । रौतहट क्षेत्र नम्बर तीनबाट निर्वाचित साँसद तथा पूर्वमन्त्री प्रभु साहले तीन गाविसमा साना–ठूला गरी करिब बाह्र किलोमिटर सडक निर्माण, विस्तार तथा स्तरोन्नति गरेको बताएका छन् । स्थानीयको सहयोगले रौतहटको बगही गाविसमा करिब पाँच किलोमिटर, कोपवा–जिउताहीमा करिब तीन किलोमिटर तथा पोठियाही–अमरपटिमा पनि विभिन्न सडक मिलाएर करिब पाँच किलोमिटर सडक निर्माण र विस्तार बिना पैसा गरेको साँसद साहले बताएका छन् । आठ मिटरदेखि दश मिटरसम्म चौडाइको सडकको सम्पूर्ण निर्माणमा स्थानीयको सहयोग मात्र रहेको साँसद साहको भनाइ छ ।

पूर्वराजा वीरेन्द्रले आफैँले सडक खन्ने सुरुआत गरेपछि चन्द्रपुरदेखि गौरसम्म सडकको निर्माण स्थानीयको सहयोगमा जनश्रमदानबाट भएको थियो । वीरेन्द्र राजमार्गको रुपमा परिचित उक्त सडक अहिले रौतहटेली यातायातको मेरुदन्डको रुपमा रहेको साहको बुझाइ छ । साथै गाउँघरमा हातमा एउटा कमन्डलु बोकेर आउने साधुले लाखौँको लगानीमा स्थानीयको सहयोगले महायज्ञ गर्न सक्छन् भन्ने थुप्रै उदाहरणहरुबाट समेत आफूले प्रेरणा पाएर विभिन्न गाउँमा सडक खोल्न सफल भएको बताए । यदि काम गर्न सकारात्मक इच्छाशक्ति लिएर अगाडि बढ्दा स्थानीयले सहयोग गर्ने गरेको आफूले पाएको उनले बताए ।

20160606_093807

संसदीय विकास कोषके रकमले कर्कच कर्मैया गाविसमा करिब तीन किलोमिटर, धरहरीमा करिब तीन किलोमिटर, खेसरहिया–देवाहीमा करिब दुई किलोमिटर, इनर्वामा अढाइ किलोमिटर, अजगैवीमा तीन किलोमिटर, पतौरामा चार किलोमिटर, गम्हरिया–पतौरामा पाँच किलोमिटर सडकको निर्माण भएको उनी बताउँछन् । सडकबाहेक अन्य धेरै सार्थक र दीर्घकालीन योजनामा कोषको रकम खर्च भइरहेको साँसद साहको दाबी छ । संसदीय विकास कोषको रकम प्रयोग भएको कामलाई स्थलगत निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी नरहरि बराल, स्थानीय विकास अधिकारी मुकेश बस्नेत, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरीको प्रतिनिधि, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख, नेपाल पत्रकार महासंघ रौतहट शाखा सभापति शैलेन्द्र कुमार गुप्ता लगायत करिब एक दर्जन संचारकर्मीहरु साँसद साहको क्षेत्रको विकास देखेर प्रभावित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया