क्यान्सर रोगको चरण पत्ता लगाउने मेसिन नेपालमा

इनेप्लिज २०७३ जेठ २५ गते ११:३५ मा प्रकाशित

काठमाडौँ, २५ जेठ । क्यान्सर रोगको चरण पत्ता लगाउन प्रयोग हुने पोजिट्रोन इमिसन टोमोग्राफी (पिइटी–सिटी स्क्यान) मेसिन अब नेपालमा उपलब्ध भएको छ ।

सुरिया डायगोनोस्टिक प्रालिले रु १३ करोडको लगानीमा पहिलो पटक यो मेसिन नेपालमा ल्याएको हो । यो मेसिनको अभावमा बर्सेनि १५ हजार नेपाली उपचार गराउन भारत जाने गरेकाले यो मेसिन नेपाल ल्याउने चुनौती लिएको सुरिया प्रालिका प्रमुख कार्यकारी अधिकृत डा क्रिताञ्जली कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो – “नेपालमा यो मेसिनको अभाव लामो समयदेखि खट्किरहेको थियो । दक्ष चिकित्सक हुँदाहुँदै पनि बर्सेनि हजारौँ नेपाली पिइटी–सिटी स्क्यानका लागि मोटो रकम खर्चेर भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका अन्य मुलुक जान बाध्य छन् । अब यो अवस्था लामो समय रहनुहुँदैन भनी जोखिम मोलेर यो सेवा सुरु गरिएको हो ।”

उहाँले यो मेसिनले रोगको पहिचान तथा अवस्था मूल्याङ्कन गर्न, रोगमा प्रयोग गरिएको औषधि शरीरमा प्रभावकारी भए÷नभएको पत्ता लगाउन र क्यान्सर पुनरावृत्ति वा मुक्त भएको अवस्था पत्ता लगाउन पनि सहयोग पु-याउने बताउनुभयो ।

यसका अलावा मुटु रोग तथा मस्तिष्कसम्बन्धी रोगको मूल्याङ्कन गर्न पनि यो मेसिन उपयोगी हुने बताइएको छ ।

यही मेसिनको अभावमा पूर्व राष्ट्रपति डा रामवरण यादव क्यान्सर परीक्षणका लागि जापान जानुभएको थियो ।

डा कोइरालाले भारतको चेन्नईमा रहेको सुरिया अस्पतालको संयुक्त लगानीमा यो मेसिन नेपाल ल्याएको र यसको सेवा लिन रु ६२ हजार खर्च लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “यसका लागि प्रयोग हुने औषधि महँगो छ, रु ३६ हजार पर्छ । त्यसकारण यो महँगो हुन गएको हो । भारतमा सेवा लिँदा ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्छ ।”

एक महिना अगाडि जडान गरिएको यो मेसिनले आजको मितिसम्म सात जना क्यान्सर बिरामीको पिइटी–सिटी स्क्यान गरिसकेको डा कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया