बुद्ध जयन्तीमा ओली, प्रचण्ड र देउवाको एउटै बोली, यस्तो देखियो एकता

इनेप्लिज २०७३ जेठ ८ गते १३:३५ मा प्रकाशित

buddha-jayantai-2560-31

बुटवल, ८ जेठ । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित २५६० औं बुद्ध जयन्तीको विशेष समारोहमा प्रमुख तीन दलका नेताको एकता देखिएको छ । अरु बेला आरोप प्रत्यारोपमा उत्रिने प्रमुख तीन दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बुद्ध जयन्तीको विशेष समारोहमा एकता देखिएको हो । उनीहरुले भाषण पनि एउटै–एउटै खालको दिए । तीनै नेताको भाषण तीनै नेताले ध्यान दिएर सुने । कसले के भने ? समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार अट्ने सभागृह बनाउने घोषणा गरे । एक वर्षभित्रमा उक्त सभागृह बनाउने घोषणा गर्दै उनले लुम्बिनी भगवान बुद्धको जन्मथलोसहित बुद्धत्वको प्रार्दुभाव भएको ठाँउ भएको बताए । प्रधानमन्त्री ओलीले बुद्धको जन्मभूमि र बुद्धत्वबादको विकासको विषयमा कुनै राजनीतिक विवाद र मतभेदको आवश्यकता नरहेको समेत बताए । उनले समारोहमा देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरु सहभागी भएको उल्लेख गर्दै यस विषयमा कुनै राजनीतिक मतभेदको आवश्यकता नरहेको बताएका हुन् ।

ओलीले नेपालको पहिलो प्राथमिकता विकास भएको भन्दै त्यसको लागि आवश्यक भिजन र प्रतिबद्धता रहेको स्पष्ट पारेका थिए । ‘लुम्बिनीलाई बौद्धधर्मावलम्बी तथा अन्य नेपालीको पवित्र तीर्थस्थलको रुपमा विकास गरी जीवनमा एक पटक अनिवार्य रुपमा आउनुपर्ने ठाउँको रुपमा विकास गर्न चाहन्छौँ’, ओलीले भने । उनले जापानका प्राविधिज्ञ केजो टाँगेले ल्याएको योजनालाई समेत कार्यान्वयन गर्ने घोषणा गरे । ओलीले भने, ‘लुम्बिनीको विकासका लागि टाँगेले ल्याएको योजनालाई कार्यान्वयन गर्नका लागि हामी पहल गर्नेछौँ ।’ लुम्बिनीको विकास योजनालाई कार्यान्वयन गर्न २०४२ सालमा लुम्बिनी विकास कोष ऐन बनेपछि लुम्बिनीको गुरुयोजना कार्यान्वयन गर्ने हेतुले टांगेलाई नियुक्त गरिएको थियो । ओलीले लुम्बिनीको विकासका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । ओलीले बुद्धको बारे सत्य, तथ्य जानकारकिा लागि शनिबार भएको भेलाले महत्वपूर्ण भूमिका खेल्ने समेत उल्लेख गरे । ‘यो समारोहले बुद्धत्वको बारेमा ज्ञान लिन पुलको काम गर्ने छ,’ ओलीले भने, ‘नेपाल सरकार बुद्धको जन्मथलोलाई बुद्धिज्मको मुहानको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छ ।’ प्रचण्ड यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुद्धका कारण छिमेकी राष्ट्रसँग नेपालको सम्बन्धलाई जोड्ने काम गरेको बताए । उनले बुद्धको शिक्षाले आफूलाई निर्दिष्ट र अशोक स्तम्भले प्रेरणा दिएको बताए । देउवा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले गौतम बुद्धले देखाएको शान्तिको बाटोमा सबै नेपालीहरु हिड्नुपर्ने बताए ।

प्रतिक्रिया