एमालेले मोटामोटी टुंगो लगायो प्रदेशका राजधानीहरु, कसको कहाँ ? (सूचीसहित)

इनेप्लिज २०७३ वैशाख ६ गते १:०३ मा प्रकाशित

Uml-leadr

दाङ, ४ बैशाख । नेकपा एमालेले संघीय प्रदेशका राजधानीहरुको मोटामोटी टुङ्गो लगाएको छ । एमालेको केन्द्रिय सल्लाहकार परिषद्ले सातवटै प्रदेशको राजधानीहरु करिब टुङ्गो लगाएर पार्टीको केन्द्रिय कमिटीमा पठाइसकेको नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो । एमालेको केन्द्रिय कमिटीले पार्टीका नेता केशव बडालको नेतृत्वमा रहेको सल्लाहकार परिषद्लाई प्रदेशको राजधानीबारे टुङ्गो लगाउन जिम्मेवारी दिएको थियो । सल्लाहकार परिषद्ले बैज्ञानिक, भौगोलिक बनावट, प्रशासनिक, आर्थिक केन्द्रसंगै सबै हिसाबले उपयुक्त स्थानलाई प्रादेशिक राजधानीकारुपमा प्रस्ताव गरेको एमाले नेता पोखे्रलले बताउनुभयो । प्रस्तावित राजधानीहरुका विषयमा आवश्यक छलफल गरेर अन्तिममा एमालेको केन्द्रिय कमिटीबाट टुङ्ग्याइने छ । एमाले स्रोतका अनुसार परिषदले तय गरेका राजधानीहरुलाई नै केन्द्रिय कमिटीले आधिकारिकता दिने बुझिएको छ । जसअनुसार प्रदेश नम्बर १ को राजधानीमा विराटनगर, २ को जनकपुरको ढल्केवर, ३ को भक्तपुर, ४ को कास्की पोखरा, ६ को सुर्खेत र ७ को अत्तरियालाई सिफारिस गरिएको छ । सल्लाहकार परिषदले प्रदेश नम्बर ५ को बीचको केन्द्रमा पर्ने दाङ जिल्लालाई प्रस्तावित राजधानीका रुपमा अघि सारेको हो । ‘हाम्रो पार्टीभित्र रहेको सल्लाहकार परिषद्ले विभिन्न प्रदेशको राजधानीका लागि सिफारिस गरेको छ, सबैको उपयुक्त सल्लाह सुझाव लिएर मोटामोटी एमालेले अघि सार्ने प्रदेशका राजधानीहरु यही नै हो,’ एमाले नेता पोखरेलले भन्नुभयो–‘एमालेको केन्द्रिय कमिटिमा पनि राजधानीका नाम प्रस्ताव भइसकेका छन, अध्ययन र लामो गृहकार्य गरेर प्रादेशिक राजधानीको प्रस्ताव ल्याईएकाले यो बैज्ञानिक पनि छ, यसैलाई आधार मानेर पार्टिको केन्द्रिय कमिटिले सम्भवत यसैलाई अनुमोदन गर्नेछ ।’ प्रस्तावित राजधानीका केन्द्रहरुलाई भागोलिक, सुरक्षा, प्रशासनिक र आर्थिक केन्द्रका हिसाबले उपयुक्त ठहराएर नै परिषद्ले सिफारिस गरेको नेता पोखरेलको भनाई छ । पार्टीका महत्वपूर्ण निर्णय गर्ने हिसाबले एमालेको सल्लाहकार परिषद् महत्वपुर्ण मानिन्छ । त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणि चौधरीले एमालेले प्रादेशिक राजधानी टुङ्गो लगाइसकेको भन्दै प्रक्रियागत रुपमा पार्टीको केन्द्रिय कमिटीले अनुमोदन गर्न बाँकि रहेको र यो पनि आउने बैठकले अनुमोदन गर्ने दावी गर्नुभयो । पार्टीको सल्लाहकार परिषद्ले प्रदेशको राजधानीका सम्बन्धमा गरेको निर्णय एमालेको आधिकारिक निर्णय भएको उहाँको भनाई छ । एमाले सल्लाहकार परिषदद्वारा प्रस्तावित राजधानीः प्रदेश नं १ को विराटनगर प्रदेश न २ को जनकपुरको ढल्केवर प्रदेश नम्बर ३ को भक्तपुर प्रदेश न ४ को कास्कि पोखरा प्रदेश न ५ को दाङ प्रदेश नम्बर ६ को सुर्खेत प्रदेश नम्बर ७ को अत्तरीया –

प्रतिक्रिया