वसन्तपुर गाविस खुल्ला दिसामुक्त घोषित

इनेप्लिज २०७३ वैशाख १ गते ३:२७ मा प्रकाशित

बुटवल, १ वैशाख । वसन्तपुरलाई खुल्ला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ ।

‘वसन्तपुरको ऐक्यबद्धता खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण सरसफाइमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाविसले आफ्नो अभियानलाई अगाडि बढाएकोे वसन्तपुर गाविसका सचिव खेमप्रसाद ढुङ्गानाले मङ्गलबार आयोजित घोषणा सभामा जानकारी दिनुभयो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सिद्धार्थनगर नगरपालिकाको सामीप्यमा रहेको यस गाविस बत्तीमुनिको अँध्यारोजस्तै विगतमा देखिएपनि अब यसले विकासका पाइला अगाडि बढाउँदै लगेको गाविस सचिव ढुङ्गानाले बताउनुभयो ।

एक हजार २४२ घरधुरी रहेको यस गाविसमा आठ हजार ९७५ मानिसको बसोबास छ । विभिन्न जाति, धर्म र समुदायका मानिस बसोबास गर्ने यस गाविसमा पहाडी र मधेसी मूलका मानिसको सम्रिश्रण रहेको गाविस कार्यालयले जनाएको छ । यहाँ एक निमावि, दुई मदरसा र तीनवटा सामुदायिक विद्यालय रहेका छन् । पूर्णसाक्षर गाविसका रुपमा समेत यो गाविसलाई घोषणा गरिसकिएको छ ।

नेपाल सरकारले सन् २०१७ सम्म खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल पार्न नेपाल रेडक्रस सोसाइटी, वास कार्यक्रम, भी वास सी सी रुपन्देहीको संयोजनमा यस गाविसलाई पूर्ण खुल्ला दिसामुक्त गाविसका रुपमा घोषणा गरिएको गाविस सचिवले जानकारी दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यता भएको घोषणा सभामा स्थानीय जनसमुदाय, सरकारी कार्यालयका प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न स्थानीय सङ्घसंस्थाका प्रतिनिधि उपस्थित थिए ।

प्रतिक्रिया