भोजपुर, १ वैशाख । भोजपुरबाट आर्थिक वर्ष २०७२÷७३ को चैत मसान्तसम्ममा चार हजार २०९ जनाले राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय भोजपुरको तथ्याङ्कअनुसार २०७२ असारयता भोजपुरबाट दुई हजार ३४४ जनाले राहदानी लिएका छन् । त्यसैगरी, एक हजार ८६५ जनाले काठमाडौँका लागि सिफारिस लगेका छन् । गत वर्षको तुलनामा यस वर्ष राहदानी लिनेको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ ।
गत आवमा १९ हजार २४४ भोजपुरवासीले राहदानी लिएका थिए । त्यसमध्ये भोजपुरबाटै सात हजार ६०८ पुरुषसहित कुल सात हजार ८६४ जनाले राहदानी लिएका हुन् । त्यसैगरी, एक हजार ३२ जना महिलासहित कुल ११ हजार ३८० जनाले काठमाडाँैबाट राहदानी लिएका थिए । अघिल्लो वर्षमा विदेशमा रहेकाले पनि आफ्नो हस्तलिखित राहदानीलाई एमआरपी बनाउनुपर्ने भएको कारणले सङ्ख्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेले बताउनुभयो ।
भोजपुरमा विराटनगरबाट राहदानी बनाएर ल्याउने गरिएको छ । पछिल्लो समयमा राहदानी लिने महिलाको सङ्ख्या बढ्दै गएको छ । राहदानी लिनेमध्ये केही निजी भ्रमणमा जान चाहनेहरु भएपनि अधिकांश वैदेशिक रोजगारीमा जानेहरु रहेका छन् ।
प्रतिक्रिया