सिन्धुलीको मरिण गाउँपालिकामा गलैंचा बुनाई तालिम सुरु

रुद्रबहादुर खड्का २०८२ वैशाख ३० गते १०:०८ मा प्रकाशित

सिन्धुली, वैशाख ३०

सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ अन्तर्गत बरूणमा गलैंचा बुनाई तालिम सुरु भएको छ । घरेलु महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भरता हासिल गराउने उद्धेश्यले तालिम सुरु गरिएको हो। तालिम मरिण गाउँपालिकाको सहयोगमा अर्पण गरिबी निवारण काठमाण्डौंको आयोजनामा सञ्चालन भइरहेको छ । कुल ३९० घण्टा सञ्चालन हुने यो तालिमको उद्घघाटन मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तान र उपाध्यक्ष बिमला माझीले संयुक्त रूपमा गर्नुभएको हो । तालिममा वडा नम्बर ३ अन्तर्गतका भालुमारा र बरूण क्षेत्रका ३४ जना गृहिणी महिलाहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि तथा मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले सीपमूलक तालिमले महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महिलाहरूले अब आफ्नै घरमै बसेर उत्पादन गर्न सक्छन्। यस्तो किसिमको सीप सिकेपछि आत्मनिर्भर बन्ने छन् । त्यसैगरी, मरिण गाउँपालिकाको उपाध्यक्ष बिमला माझीले तालिम महिलाहरुको क्षमता विकासका लागि महत्वपूर्ण अवसर भएको बताउँदै तालिमपछि महिलाहरू स्वरोजगारमा लाग्न सक्ने सम्भावना औंल्याउनुभयो ।

तालिमले सहभागी महिलाहरूलाई गलैंचा बुनाईका सम्पूर्ण आधारभूत सीप प्रदान गरिनेछ । तालिममा स्थानीय स्रोत साधनको प्रयोग, परम्परागत तथा आधुनिक ढाँचामा गलैंचा उत्पादन, र बजार व्यवस्थापनसम्बन्धी जानकारीसमेत समावेश गरिएको छ । छोटो अवधिको तालिमले सम्पूर्ण सीप प्रदान गर्न नसक्ने भएकाले आवश्यकताका आधारमा आगामी दिनमा थप विस्तारित तालिमहरू सञ्चालन गरिने योजना आयोजक संस्थाले बनाएको छ । स्थानीय तहबाट महिलाको सशक्तीकरणतर्फ देखिएको यो पहललाई सहभागीहरूले स्वागत गर्दै आगामी दिनमा तालिम प्राप्त सीपलाई व्यवहारमा उतारी आफ्नो जीवनस्तर उकास्ने अठोट गरेका छन् ।

प्रतिक्रिया