ठूला तीन दलका नेताहरु बेइमान हुन्: राई

इनेप्लिज २०७३ वैशाख १ गते २:४१ मा प्रकाशित

गाईघाट (उदयपुर), १ वैशाख । सङ्घीय समाजवादी फोरम (नेपाल)का वरिष्ठ नेता अशोक राईले नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेताहरु बेइमान भएको आरोप लगाउनुभएको छ ।

फोरमको किराँत प्रदेशद्वारा मङ्गलबार सदरमुकाम गाईघाटमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता राईले भन्नुभयो, “हिजो मधेस आन्दोलन र जनजाति आन्दोलनको उत्कर्षमा रहेका बेला ठूला दलका नेताले आन्दोलनकारीको माग पूरा गरिदिने भन्दै सम्झौता गरे तर संविधान बनाउँदा धोका दिएर आफ्नो अनुकूलको संविधान बनाए ।”

मधेसी र जनजातिले उठाएका माग पूरा नभएसम्म आफूहरुको आन्दोलन कुनै पनि हालतमा नरोकिने दाबीसमेत उहाँले गर्नुभयो । वैशाख ७ गतेदेखि राजधानी काठमाडाँैबाटै आन्दोलन सुरु गरिने उहाँको भनाइ थियो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार कम्युनिस्टको सरकार भनिए पनि यो सरकार भ्रष्टाचारी, कालोबजारिया र विदेशी माफियाबाट चलेको दाबी गर्नुभयो ।

सरकार वार्ताको नाटक गरेर भाग्दै हिँडेका कारण आफूहरु फेरि आन्दोलन गर्न बाध्य हुन परेको समेत यादवले बताउनुभयो ।

फोरमका उपाध्यक्षहरु हेमराज राई तथा उपाध्यक्ष युवराज कार्की र परशुराम बस्नेतले पनि जनसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया