विज्ञान प्रविधिको विकासले मात्रै शैक्षिक प्रगति: मन्त्री थापा

इनेप्लिज २०७२ चैत २८ गते १:१९ मा प्रकाशित

रत्ननगर (चितवन), २८ चैत । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले विज्ञान र प्रविधिको विकास नभएसम्म नेपालको शैक्षिक प्रगति हासिल हुन नसक्ने बताउनुभएको छ ।

गुणस्तरिय र व्यावहारिक शिक्षाका लागि विज्ञान र प्रविधि आधारभूत आवश्यकता भएको उहाँले औँल्याउनुभयो ।

पूर्वी चितवनको पदमपुरस्थित भीमोदय उच्च माध्यमिक विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।

शनिबार विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री थापा प्रमुख अतिथि रहनुभएको थियो ।

सो क्रममा बोल्दै मन्त्री थापाले नेपाल सरकारको सबैभन्दा कमजोर र सम्बन्धित निकायको ध्यान जान नसकेको मन्त्रालयको रुपमा विज्ञान तथा प्रविधि मन्त्रालय भएकाले यो क्षेत्रको विकास सोचेजस्तो हुन नसकेको जिकिर गर्नुभयो ।

सम्भावना प्रशस्तै भएर पनि विज्ञान र प्रविधिको महत्व नबुझेका कारण सबैभन्दा न्यून बजेट विनियोजन हुने गरेको जानकारी दिँदै मन्त्री थापाले यही बजेट र कार्ययोजनाले देशभरको शैक्षिक क्षेत्रलाई सुधार गर्न नसकिने बताउनुभयो । उहाँले नेपालमा छुट्टै प्राविधिक विश्वविद्यालय स्थापना हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं २ का सांसद शेषनाथ अधिकारीले भीमोदय उच्च माध्यमिक विद्यालयले लामो समयपछि गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका योजना अधिकृत लक्ष्मण बस्यालले गुणस्तरीय शिक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

प्रतिक्रिया