प्रहरी सेवा प्रभावकारी बनाउन अन्तरक्रिया

इनेप्लिज २०७२ चैत २६ गते २:०५ मा प्रकाशित

धनगढी, २६ चैत । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी सेवालाई व्यावसायिक र प्रभावकारी बनाउन नागरिक समाजको भूमिका पनि ठूलो हुने बताउनुभएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे केही दिनदेखि स्थलगत रुपमा अनुगमन गर्नुभएका प्रहरी महानिरीक्षक अर्यालले बिहीबार यहाँ आयोजित अन्तरक्रियामा प्रहरी सेवाको गुणस्तर र प्रभावकारिता बढ्दै गएको भए पनि नागरिकको अपेक्षाअनुसारको शान्तिसुरक्षाको व्यवस्थापन गर्न नसकिरहेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “नागरिकको अपेक्षा अनुरुपको सुरक्षा व्यवस्थापन कसरी गर्ने भन्ने विषय प्रहरीका लागि अहिले प्रमुख चुनौतीका रुपमा देखिएको छ ।” नेपाल प्रहरीले नागरिक मैत्री कार्यक्रम ल्याएर आफ्नो सेवालाई प्रभावकारी बनाउने योजनामा रहेको बताउँदै उहाँले यसअघि सुरु गरिएको मुस्कान सहितको प्रहरी सेवा, बस्ती भेटघाट कार्यक्रम, सामुदायिक प्रहरी सेवा लगायतका क्रियाकलापलाई थप प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राखिएको जिज्ञासामा महानिरीक्षक अर्यालले कैलालीको मालाखेतीमा दुई वर्षअघि नबिल बैंक लिमिटेडको झन्डै दुई करोड ३० लाख रुपैयाँ लुटपाटको घटनाको नयाँ शिराबाट अनुसन्धान थालिने बताउनुभयो । प्रहरीले बैंकको रकम लुटपाट घटनापछि घटनाका सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म लुटेरा पत्ता लगाउन सकेको छैन ।

कार्यक्रममा नागरिक समाजका अगुवा, पत्रकार, उद्योगी व्यवसायीले कैलाली जिल्लाको ग्रामीण क्षेत्रका प्रहरी कार्यालयका भवनमा भौतिक पूर्वाधार जुटाउनुपर्ने, दरबन्दी अनुसारको प्रहरी जनशक्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्नुभएको थियो ।

प्रतिक्रिया