मनोजको उपचारका लागि विदेशबाट सहयोग

इनेप्लिज २०७२ चैत २५ गते ७:५२ मा प्रकाशित

काँकडभिट्टा (झापा), २५ चैत । झापा ज्यामिरगढी–९ गोमनसरीका मिर्गाैलापीडित मनोज राउतको उपचारका लागि विदेशबाट सहयोग जुट्न थालेको छ ।

दुवै मिर्गौला खराब भएका मनोजलाई मिर्गौैला प्रत्यारोपण गर्न खर्च अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको थियो ।

सोही अनुसार वैदेशिक रोजगारीका लागि साउदी, दुबई, रसिया, इजरायल र डेनमार्कमा रहेका नेपालीले उनलाई उपचारका लागि सहयोग रु एक लाख ८२ हजार ५५५ पठाइदिएका छन् ।
विगत तीन वर्षदेखि मिर्गौला रोगबाट प्रताडित बनेका राउतलाई उपचारका लागि यतिबेला काठमाडौँ लगिएको छ । उनलाई आफ्ना फुपाजु अनिल तिम्सिनाले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि काठमाडौँ लगिएको हो ।

सामान्य आर्थिक अवस्था भएका राउतको डाइलायसिसमा मात्र रु १४ लाखभन्दा बढी खर्च भइसकेको छ भने अझै रु १२ लाखभन्दा बढी लाग्ने चिकित्सकले जनाएका छन् । उनको उपचारका लागि हाल मेक्सिकोमा रहेकी रुपा अधिकारीले रु २७ हजार, साउदीबाट श्याम गुरुङले रु ५० हजार, रम्भा भट्टराईले डेनमार्कबाट रु २५ हजार, इजरायलबाट खेमराज राई र विष्णु अधिकारीले रु २० हजार, कतारबाट सन्तोष भट्टराईले रु पाँच हजार र सीताराम पौडेलले दुबईबाट रु ५५ हजार ५५५ नगद सहयोग गरेको मनोज बचाउ अभियानका संयोजक राजन भट्टराईले बताउनुभयो ।

उहाँले स्थानीय क्षेत्रमा समेत एक्सेल डेभलपमेन्ट बैंकमा खाता खोलेर सहयोग रकम सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया