काँचो आरु र अमेरिकाबासी हाम्रो सपना

इनेप्लिज २०७२ चैत १७ गते २:५९ मा प्रकाशित

prakash nepal

“उनि रुखमा छाडेर काँचो आरु टिप्दै थिईन| मलाई उत्सुकता भो, यो काँचो आरु किन टिपिरा’ होलिन, हेरी रहें| उनले आरु निसंकोच टिप्दै रहिन्| मैले भने “यो आरु काँचो छ, किन टिपेरा नोक्सान गर्नु भाको ? तल झर्नोस |” उनि सुनेको नसुनै गरिन | आरुको फांचो पुगे पछी झरिन र आफ्नो बाटो लाग्न थालिन | मैले उनलाई रोकेर भने “ए बैनी, एकछिन पख्नुस त | भन्नोस् त बैनी किन तपाइले यी काँचो आरु टिप्नु भो ?” उनले मेरो मुखमा हेरिन र आँखा भरि आँशु टलपल पार्दै भनिन “के खाएर बाचौं त हजुर | घरमा खाने कुरा केहि छैन | दुइ दिन कि भोकी छु|” म छक्क परें र सोधे “तपाइको घर कहाँ ?” उनले घरतिर आँखा सोझ्याएर इशारा गरिन, नजिकै थियो-एउटा स्याउलाले बारेको झुप्रो| मैले भने “हिड्नोस जाउँ तपाइको घरतिर | उनि असजिलो मानिन| उनको भावले बुझिन्थ्यो यो मान्छे मेरो घरमा नआए हुन्थ्यो | तै पनि बिस्तारै अघि लागिन, म उनको पछी पछी | घरमा पुगे पछी मा उनको घर भित्र एसो टाउको छिराएर हेर्न मात्रै के लागेको थिएँ, उनले मलाई झम्टिदै भित्र जाने बाटो छेकिन् र अत्तालिए जस्तो गरेर भनिन “यहाँ मान्छे छ भित्र – तपाई नाउनुस”| म झन् छक्क परें | अनि भनें “के म मान्छे होइन र? मान्छे ले मान्छे हेर्न हुन्न र ?” अनि म भित्र पसें | एउटा दुइ दिनको बच्चा थियो- ओढ्ने थिएन, नांगै थियो | थाहा भो उनि दुइ दिनकी सुत्केरी रैछन | दुई दिनकी सुत्केरी, २ दिनको भोक, प्राण धान्न काँचो आरु | मैले केहि सोच्न सकिन | बाहिर आएर थचक्क बसें | एकछिन पछी मेरो झोलामा भएको चाउ चाउका २-४ पोका दिएँ|”

यो अत्यन्त काल्पनिक लाग्ने र कुनै चलचित्रको कथा जस्तो लाग्ने दृश्य काल्पनिक भने होइन | यो एउटा नेपालको चित्र हो र अधिकांश नेपालीहरुको प्रतिनिधि चित्र हो | जब बिष्णु गौतमले यी कुराहरु दर्शकको माझमा भन्दै थिए, हामी दर्शक सबैका आँखा रसाएका थिए | हल भित्र सन्नाटा छाएको थियो | यस्तै दुख पाएका मानिसहरुको र बालबालिकाहरुको सहयोग गर्न अगाढी बढेका बिष्णु गौतमको आफ्नो कहानी भने अझै दुखदायी छ |

आज भन्दा केहि बर्ष पहिले बिष्णु गौतमका छोरा कुमार गौतम सडक दुर्घटनामा मरे | त्यो घाउ ओबाउन नपाउदै अमेरिकामा रहेका अर्का छोरा बलराम नौ महिना पछी सडक दुर्घटना मै मरे | यसरी होनहार छोराहरु एकै बर्ष भित्र गुमाउनुको पीडाले घर शोकाकुल हुनु स्वाभाविक थियो | घर परिवार धेरै समय पिडा पिडामा बाँचे | यो पीडाले एउटा बितृष्णा जन्मायो बिष्णु गौतममा | अनि एकदिन सोचे – अब सबै परिवार बाच्नुको कुनै अर्थ रहेन | यो पीडाले सबैको जिन्दगीलाइ रात दिन तड्पाउनु भन्दा एकै चोटी खत्तम गर्नु कम पिडा दायक पो हो कि भन्ने सोचे | यो आम आत्महत्याको प्लान थियो | बिष्णु गौतमले सोचे – हो यही प्लान ठिक छ, हामी सबै परिवारले मुक्ति पाउने बाटो यही हो |

अन्तत: मन मनै प्लान भो – देवघाट जाने निहुमा खोलामा गाडी हुल्ने | गाडी देवघाट तिर हुइकिदै थियो | सबै करिब करिब मौन थिए | त्यही मौनतालाई चिर्दै बिष्णु गौतमकी धर्म पत्नीले भनिन “हामीले यी दुइ छोराहरुको सम्झनामा गरिब गुरुवाहरुको भलाई गर्ने काम गर्नु पर्छ कि क्या हो हजुर, यसले हाम्रा छोराहरुलाई सधै अमर बनाउछ |” अचानक आएको यो कुराले बिष्णु गौतमको मुटु हल्लियो| अचानक गाडी रोके र भने “एकछिन आराम गरम” |

यस पछी सबै कुरा परिबर्तन भयो, आम आत्महत्याको प्रयास परिबर्तन भयो – अनि नया जीवनको सुरुवात भयो | बिष्णु गौतमलाई लाग्यो, हो त नि, आत्महत्या कायरपन हो भन्ने जान्दा जान्दै पनि अंगालेको यो कुरा भन्दा त लक्ष्मीले भनेको कुरा कति बिजयी हो |

कति जोडदार हो | हो, यही घटनाको उपज हो आजको लक्ष्मी प्रतिस्थान | लक्ष्मी प्रतिस्थानलाई (बिष्णु गौतम) मैले फेसबुक बाहेक अन्त कतै भेटेको थिएन त पनि यसका सम्पूर्ण गतिबिधिहरु बडो रुची पुर्बक हेरी रहन्थे | लक्ष्मी प्रतिष्ठानका कामहरु निकै राम्रा लाग्थे | बिशेस गरि चेपांगका बच्चाहरुको शिक्षा दिक्षा बस्ने, बासको बन्दो बस्त, एक सरो आंग ढाक्ने कपडा आदि इत्यादि | अत्यन्त बिपन्न परिवारहरुको मुखमा माढ लगाइदिने काममा जुटेका बिष्णु गौतमलाई थाहा छ जब सम्म परिवारको खानाको जोहो हुन्न, तब सम्म बच्चा स्कूल जान सक्दैनन् | पाच बर्षको उमेर देखि मजदूरी गर्न बाध्य यी बच्चाहरुकोलागि स्कूल त धेरै परको कुरा हो | तर बिष्णु गौतमको लक्ष्मी प्रतिस्थानले पहल गर्यो, सारा संसारबाट यो पुण्य काममा हातेमालो भयो र यो सम्भव भयो | अहिले लक्ष्मी प्रतिष्ठान शिक्षा, स्वस्थ, सीप बिकाश लगाएतका कामहरुमा लागेको छ | करिब २०० जना बिद्यार्थीहरुको शिक्षाकोलागि शैक्षिक अभिभावक पनि खोज्दै छ |

गएको हफ्ता बिष्णु गौतमसंग अमेरिकाको राजधानी वाशिंगटन डी.सी. मा डी.सी. बासी नेपालीहरुको भेट भयो | हामीले पनि हातेमालोमा साथ् दिएर अलिकन भए पनि यो पुण्य काममा सहयोग भो भन्ने लागेको छ | चेपांग बास्तिमा ८०-९० वोटा घर बनाइदिने लक्ष्य बोकेर हिडेका बिष्णु गौतमजीलाइ हामी बिदेशमा बसेर आफ्नो गास कटाएर नेपालकोलागि केहि गरौ भन्ने हाम्रो भावनालाई बिष्णु गौतम टेवा बनेका छन् | हाम्रो यो कामनालाई बोकेर सधै अगाडी बढोस लक्ष्मी प्रतिष्ठान|

प्रतिक्रिया