काठमाडौँ, १७ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेसनल गल्र्स इन आइसिटी (इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्निक्स) डे २०१६’को अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरेको छ ।
महिलालाई सूचना तथा सञ्चार प्रविधिबारे जानकारी दिन मङ्गलबार यहाँ आयोजित अन्तरक्रियामा सहभागीले प्रविधिको प्रयोगमा महिला पछि परेकाले रोजगारीको अवसरबाट समेत वञ्चित हुनु परेको बताउनुभयो । सरकारी निकायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उहाँहरुले यसका लागि दुर्गम क्षेत्रलगायत सबै क्षेत्रका महिलालाई सञ्चार प्रविधि जानकार बनाउनुपर्ने औँल्याउनुभयो ।
सूचना तथा प्रविधि सङ्घ, नेपालका अध्यक्ष दामोदर पौडेलले महिलालाई सीप सिकाउँदै काम गर्न सजिलो छ भन्ने आत्मबल बढाउनुपर्ने बताउनुभयो । दूरसञ्चार प्राधिकरणमा कार्यरत कर्मचारी सुनिता पाण्डेले प्रविधि नजान्ने महिलालाई लक्षित गरेर दिवस मनाएको जानकारी दिँदै महिलाको सूचना प्रविधिमा पहुँच नभएसम्म लैङ्गिक समानता असम्भव रहेको बताउनुभयो ।
सूचना प्रविधि (आइटी) विद्यार्थी विद्या श्रेष्ठले सूचना प्रविधिसम्बन्धी कलेजमा छात्राको सङ्ख्या बढाउनुपर्नेमा जोड दिँदै उनीहरुलाई दिइने छात्रवृत्तिसमेत बढाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया